अर्थतन्त्रको निराशाजनक अवस्था लामो समय रहँदैन : शेखर गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रको निराशा लामो समय नरहने बताउनुभएको छ । आज महासंघको ५७औं वार्षिक साधारणसभा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।

कोभिड–१९ बाट जोगाउन सकेको अर्थतन्त्रलाई आफ्नै कमजोरीले अप्ठ्यारोमा परेको भन्दै उहाँले यो अप्ठ्यारो लामो समय नरहने बताउनुभयो ।

‘कोभिडबाट बचाएको अर्थतन्त्र हाम्रै कारण अप्ठ्यारोमा पर्यो । अहिलेको निराशाजनक अवस्था लामो समय रहँदैन,’ अध्यक्ष गोल्छाले भन्नुभयो ।

अहिलेको समस्यालाई अर्थ मन्त्रालय र राष्ट्र बैंकले पनि बुझ्नुपर्ने र अवस्था परिवर्तनका लागि काम गर्न पनि उहाँले सुझाव दिनुभयो । उद्योग धन्दा र निजी क्षेत्र समस्यामा परे सरकार र बैंक सबैलाई अप्ठ्यारो पर्ने भन्दै उहाँले सहजीकरणका लागि सम्बन्धित निकायलाई आग्रह गर्नुभयो ।

लोकप्रियताभन्दा पनि दिगो योजना बनाएर दिगो आर्गिक वृद्धिका लागि काम सरकारलाई सुझाव दिंदै उहाँले नेपाली उद्योगलाई सहुलियतमा बिजुली उपलब्ध गराउन पनि आग्रह गर्नुभयो ।

महासंघ सरकार विरुद्ध आान्दोलित हुन संगठित नभएको भन्दै उहाँले जनताको जीवनस्तर उठाउन काम गरिने बताउनुभयो ।

हामीसँग विश्व बजारमा छिरेका देशहरु धेरै माथि पुगेका उदाहरणले नेपाल पनि पुग्न सक्छ भन्दै गोल्छाले अहिलेको अप्ठ्यारो अवस्थामाथि उठाउन सरकारको विशेष ध्यानाकर्षण गराउनुभयो ।

Back to top button