बैशाख देखि माओवादी केन्द्रका मन्त्रीसँगको भेटघाट पेरिसडाँडामा

काठमाडौं । नयाँ वर्षदेखि नेकपा माओवादी केन्द्रका मन्त्रीहरुलाई भेट्न सिंहदरबार धाउन नपर्ने भएको छ । माओवादी केन्द्रले आफ्नो पार्टीबाट मन्त्री बनेकाहरुसँग केन्द्रीय कार्यालय पेरिसडाँडामै भेट्ने व्यवस्था गर्न लागेको छ ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले वैशाख १ गतेदेखि माओवादी मन्त्रीहरुलाई पार्टी कार्यालयमा भेट्ने व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो ।

‘पार्टीका कार्यकर्ता, जनता सबैलाई हप्तामा १ दिन दिउँसो ४ बजेदेखि ६ बजेसम्म केन्द्रीय कार्यालयमा भेट्ने व्यवस्था मिलाउँदैछौं,’ सचिव ढकालले भन्नुभयो ।

कार्यालय समयमा मन्त्रीहरुलाई काममा डिस्टर्ब नहोस् र मन्त्रीहरुले सरकारकै काममा ध्यान दिउन् भनेर अपराह्न ४ बजे पछिको समय पार्टी कार्यालयमा दिने गरी व्यवस्थित गर्न लागिएको उहाँको भनाइ छ ।

कार्यालय समयमा मन्त्रालय र क्वाटरमा मन्त्रीहरुसँग भेट्नेहरुको भिडभाड हुन थालेपछि त्यसलाई व्यवस्थित गर्नुपर्ने भनेर माओवादी पदाधिकारी बैठकमा छलफल भएको थियो । सोही छलफलको आधारमा मन्त्रीहरुसँग सबैले सजिलै भेट्न पाउन् भनेर पार्टी कार्यालयमै भेट्ने व्यवस्था गर्न लागिएको सचिव ढकालले बताउनुभयो ।

यस्तै, भेटघाट व्यवस्थित गर्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हेल्प डेस्क स्थापना गर्ने तयारी छ । सचिव ढकालका अनुसार हेल्प डेस्कमा खटिने कार्यालयका कर्मचारीले कुन मन्त्रीलाई भेट्ने, को–कोले भेट्ने र भेट्न खोज्नुको कारण के हो भनेर विवरण टिपेर भेटघाटमा सहजीकरण गरिदिनेछन् ।

Back to top button