सेयर बजारमा हरियालीः नेप्से ९२.२२ अंकले वृद्धि

काठमाडौं । ब्याजदर घटाउन बैंकर्स संघले निर्णय गरेसँगै सेयर बजारमा हरियाली छाएको छ । मंगलबार नेपाल राष्ट्र बैंकले पत्रकार सम्मेलन गर्दै बाह्य क्षेत्र सुविधाजनक अवस्थामा रहेको बताएको थियो ।

राष्ट्र बैंकको उक्त भनाइले आगामी दिनमा कसिलो नीति विस्तारै खुकुलो बनाउने विश्वास र १ वैशाखदेखि लागु हुनेगरी निक्षेपको ब्याजदर घटाउने बैंकर्सको सहमतिले सेयर बजारमा हरियाली छाएको हो ।

साताको चौथो कारोबार दिन आज बजार परिसूचक नेप्से ४ दशमलव९३ प्रतिशतले वृद्धि भएको छ । आज नेप्से ९२.२२ अंकले वृद्धि हुँदा १९६३.५५ अंकमा बन्द भएको छ ।

बैंकिङ सहित सबै उपसूचकमा वृद्धि हुँदा कारोबार रकम पनि बढेको छ । आज बैंकिङ उपसूचक नै ५.४६ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक सर्वाधिक ६.८४ प्रतिशतले वृद्धि भएको छ ।

नेप्सेमा उच्च अंकको वृद्धि हुँदा पनि कारोबार रकमले भने लगानीकर्तामा अझै विशवस्त हुन नसकेको देखाउँछ । जसले गर्दा कारोबार रकम २ अर्ब पनि पुग्न सकेन ।

आज ४७ हजार २८५ वटा कारोबारमा ६१ लाख ७ हजार ४२५ कित्ता सूचीकृत धितोपत्र कारोकार हुँदा १ अर्ब ९७ करोड ६१ लाखको कारोबार भएको हो ।

जसमध्ये शिवम् सिमेन्टको मात्रै ११ करोड ७१ लाख रुपैयाँको कारोबार हुँदा एनआईसी एशिया बैंकको ६ करोड ३० लाख र हिमालयन डिस्टिलरीको ६ करोड ३ लाख रुपैयाँको कारोबार भएको हो । आज नेप्सेमा कुल २१८ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा सबै कम्पनीको सेयर मूल्य बढेको छ ।

जसमध्ये आदर्श लघुवित्त, खप्तड लघुवित्त, कालिञ्चोक दर्शन र गणपति लघुवित्तको सेयरमूल्य बढेर सकारात्मक सर्किट लेभलमा बन्द हुँदा सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ म्युचुअल फण्ड १ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाइमूल्य पनि बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।

Back to top button