प्रधानमन्त्री प्रचण्डलाई सांसद ठाकुर गैरको प्रश्नः भारतप्रतिको भक्तिभाव किन ?

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारतप्रतिको भक्तिभाव किन भन्दै प्रश्न गर्नुभएको छ ।

आज प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गैरेले अन्य देशको भ्रमण रोकेर भारतको निम्तो पर्खिनु प्रधानमन्त्रीको भारतप्रतिको भक्तिभाव भएको टिप्पणी गर्नुभयो ।

उहाँले अन्य देशको निमन्त्रणालाई थाती राखेर निमन्त्रणा नै नगर्ने देशको भ्रमण पर्खिएर बस्नुको औचित्य के हो ? भन्दै प्रश्न गर्नुभयो ।

‘भारतीय सेना कालापानीबाट फिर्ता हुने सुनिश्चित गरेर उहाँ जाँदै हुनुहुन्छ कि ? कालापानी, लिपुलेक र लिम्पियाधुरामाथि नेपालीको हकभोगको सुनिश्चितता भएको छ?’ गैरेले थप्नुभयो, ‘भूमि समस्या वा सीमा समस्या सम्बोधन हुनेवाला छ ?’

प्रधानमन्त्री प्रचण्डले आफूले सबैभन्दा पहिला भारत भ्रमण गर्ने भन्दै बोआओ सम्मेलन र अर्को छिमेकी मुलुकको भ्रमण रोकेको गैरेले जिकिर गर्नुभयो ।

सांसद गैरेले भक्तिभाव देखाउने नभई सीमा समस्या समाधान नभएसम्म भारत भ्रमण नगर्ने भनेर अडान राख्ने बेला आएको बताउनुभयो ।

Back to top button