कुटपिट गरेको ३ महिनापछि वृद्धको मृत्यु

विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–४ प्रगति टोलमा सामूहिक कुटपिटबाट गम्भीर घाइते भएका १ जना वृद्धको आज बिहान मृत्यु भएको छ ।

कुटपिट भएको ३ महिनापछि पथरीशनिश्चरे–४ का ६२ वर्षीय टेकबहादुर थापाको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार छिमेकीको घरमा न्वारानमा गएका बेला आपसी विवाद हुँदा गत पुष २८ गते राति ८ बजेतिर थापामाथि निर्घात कुटपिट भएको थियो । बियरको बोतल र लात्ता प्रहारबाट उहाँ गम्भीर घाइते हुनुभएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

स्थानीयले उहाँलाई सडक किनारमा अचेत अवस्थामा फेला पारेका थिए । थापालाई तत्काल उद्धार गरेर प्रहरीले उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याएको थियो ।

नोबेलमा ३ महिनासम्म उपचार गराउँदा पनि ठीक नभएपछि परिवारका सदस्यले गत हिजो घर फर्काएर लगेका थियो । स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएपछि थप उपचारका लागि उर्लाबारीको मंगलबारेतर्फ लैजाने क्रममा आज बिहान ५ बजेतिर थापाको मृत्यु भएको डीएसपी दाहालले बताउनुभयो ।

उहाँका अनुसार घटनामा संलग्न ३ जनालाई त्यतिबेलै प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो । प्रहरीले १ महिला र २ बालकलाई पक्राउ गरेको हो । स्थानीय २१ वर्षीया शुलोचना थापा कार्की तथा १६ र १७ वर्षका २ बालक पक्राउ परेका थिए ।

पक्राउ परेकाविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा चलाउन प्रहरीले अदालतबाट म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाएको थियो ।

घटना यकिन नभएको र थप अनुसन्धान आवश्यक रहेको भन्दै सुरुमा तीनै जनालाई हाजीरजमानीमा छाडिएको थियो । तर, कुटपिटमा संलग्नता यकिन भएपछि पुनः पक्राउ गरिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार घटनामा संलग्न रहेकाहरु मृतकका परिवारिक नाता सम्बन्धका व्यक्तिहरु हुन् ।

डीएसपी दाहालका अनुसार मृतकको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

Back to top button