सुर्तीजन्य पदार्थको सेवन निषेध अभियान प्रभावकारी बनाउन प्रभातफेरी

विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले वैशाख १ गतेदेखि सार्वजनिकस्थलहरुमा सुर्तीजन्य पदार्थको सेवनमा निषेध गरेको छ ।

महानगरले अभियानलाई सफल बनाउन सचेतनामूलक प्रभातफेरी निकालेको छ । महानगर परिसरबाट सुरु भएको प्रभातफेरी नगरका विभिन्न भागको परिक्रमापछि शहीद रंगशालामा पुगेर समापन भएको छ ।

समापन समारोहलाई सम्बोधन गर्दै महानगरका कार्यबाहक मेयर काजीबहादुर बस्नेतले विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र सभ्य सहर बनाउने उद्देश्यका सुर्तीजन्य पदार्थको सेवनमा रोक लगाइएको बताउनुभयो ।

सुर्तीजन्य पदार्थको सेवनले विभिन्न रोग लाग्नुका साथै सहरको सौन्दर्यतामा समेत ह्रास आएको उहाँले बताउनुभयो । महानगरले सरसफाई अभियान पनि सञ्चालन गरिरहेको भन्दै उहाँले नाला सफा गर्दा ७० प्रतिशत सुर्तीजन्य पदार्थका खोलहरु भेटिने गरेकाले अभियानमा साथ दिन सबैलाई आग्रह गर्नुभयो ।

मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले सुर्तीजन्य पदार्थको सेवनले मानव स्वास्थ्यलाई हानी हुने बताउनुभयो ।

उहाँले महानगरले लागू गरेको क्षेत्रमा सुर्तीजन्य पदार्थको सेवन गरे कानुनीले तोकेको कारबाही हुने प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यदि सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन गरेमा कानुनले तोकेअनुसारको कारबाही हुन्छ ।’

महागरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले पहिलो चरणमा अभियानअन्तर्गत ५ स्थानमा सुर्तीजन्य पदार्थको सेवनमा रोक लगाइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार विद्यालय, स्वास्थ्य संस्था, महानगर र उससँग सम्बन्धित वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरु, बसपार्क र बसमा सुर्तीजन्य पदार्थ सेवन गर्न पाइने छैन ।

नगर सभाले गरेको निर्णयलाई वैशाख १ गतेबाट कडाइका साथ कार्यान्वयनमा ल्याइने उहाँले प्रष्ट्याउनुभयो । कसैले सेवन गर्न चाहेमा सुरक्षित तबरले अरुलाई हानी नहुनेगरी सेवन गर्न सक्ने उहाँको भनाइ थियो ।

स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले महानगरवासीलाई जानकारी दिने उद्देश्यले प्रभातफेरी आयोजना गरिएको बताउनुभयो ।

प्रभातफेरीमा विराटनगर महानगरपालिकाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्य, सुरक्षा निकायका प्रमुख, महानगरका महाशाखा र शाखा प्रमुखहरु, विभिन्न कलेज, विद्यालय, नर्सिङ कलेज, हेल्थ कलेजका विद्यार्थीका साथै जनपद प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरीको सहभागिता थियो ।

मेयर नागेश कोइरालाले विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानमा कसैसित पनि सम्झौता नहुने बताउँदै आउनुभएको छ ।

प्रभातफेरीमा भने मेयर नागेश कोइराला र उपमेयर शिलपा निराला कार्कीको अनुपस्थिति थियो । उहाँहरु विदेशी दातृ निकायहरुसँग छलफल गर्न काठमाडौंमा रहेकाले कार्यक्रममा उपस्थित हुन नसक्नुभएको प्रमुख प्रशासकीय अधिकृत कोइरालाले जानकारी दिनुभयो ।

Back to top button