उदयपुरमा आगलागी, दुई घर जलेर नष्ट

विराटनगर । उदयपुरको ताप्ली गाउँपालिकामा आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ । गएराति ताप्लि गाउँपालिका– ५ रुपाटारस्थित शाहीडाँडामा आगलागी हुँदा शुभशेर राई र कमलशेर राईको घर जलेर नष्ट भएको हो ।

आगलागीबाट २८ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहन थापाका अनुसार आगालागीबाट शुभशेरको घर, गाईगोठमा रहेका दुईवटा गोरु, तीनवटा गाई, नौंवटा बाख्रापाठा, अन्नपात, लत्ताकपडा, भाडावर्तन गरी १५ लाखको क्षति भएको छ ।

त्यसैगरी आगलागीबाट कमलसेरको घर, दुईवटा गोरु, दुईवटा गाई, छ वटा बाख्रापाठा,सुँगुर ५ वटा र अन्नपात, लत्ताकपडा, भाडावर्तन गरी १३ लाखको क्षति पुगेको उहाँले बताउनुभयो । स्थानीय र प्रहरीको सहयोगमा दुई घण्टा पछि आगो नियन्त्रणमा आएको थियो।

Back to top button