सिरुवा पर्व आजदेखि सुरु

झापा । नयाँ वर्ष २०८० को सुरुवातसँगै आदिवासी समुदायको मुख्य चाड सिरुवा पर्व आजदेखि सुरु भएको छ।

तराई क्षेत्रका झापा, मोरङ र सुनसरी जिल्लामा बसोबास गर्ने राजवंशी, थारु, गनगाई, ताजपुरिया, माझी, हलुवाई, देशीनाई लगायतका आदिवासी जातजातिहरूले आजदेखि तीन दिनसम्म सिरुवा पर्व मनाउन लागेको हो।

जसमध्ये आज पहिलो दिन जल सिरुवा, बैशाख २ गते काद सिरुवा र वैशाख ३ गते रङ्ग सिरुवा खेल्ने गरिन्छ। आज धूमधामसाथ पानी छ्यापेर सिरुवा पर्व मनाइँदैछ।

अघिल्लो वर्षको दुःख र कष्टलाई पानीले धोई पखाली नयाँ वर्षभरि शरीर शीतल रहोस् भनी कामना गर्ने धार्मिक प्रचलन अनुसार जल सिरुवा मनाइँदै आएको जानकारहरू बताउँछन्।

यसैबीच झापाका १५ पालिकामध्ये ८ पालिकाले सिरुवा पर्वको अन्तिम दिन वैशाख ३ गते आइतबार स्थानीय बिदा दिने निर्णय गरेको छ।

आदिवासी समुदायको सिरुवा पर्व र लोपोन्मुख मेचे समुदायको राष्ट्रिय बैशागु बथर पर्वलाई मध्यनजर भद्रपुर, हल्दिबारी, कचनकवल, बाह्रदशी, गौरीगञ्ज, गौरादह, कनकाई र बिर्तामोड नगरपालिकाले आइतबार स्थानीय बिदा दिने निर्णय गरेको हो।

पालिकाहरूले छुट्टाछुट्टै सूचना जारी गरेर सो दिन कार्यपालिका, वडा कार्यालय, शैक्षिक संस्था, पालिका अन्तरगतका कार्यालयहरू बन्द रहने जानकारी गराएको हो।

Back to top button