चितवनमा आजदेखि प्याराग्लाईडिङको व्यवसायीक उडान सुरु

चितवन । सफारी पर्यटनमा परिचित चितवनमा आजदेखि प्याराग्लाइडिङको व्यावसायिक उडान पनि सुरु भएको छ । साहसिक खेल पर्यटनको रूपमा चिनिने प्याराग्लाइडिङ भरतपुर महानगरपालिका वडा नं. २९ को चौकीडाँडाबाट सुरु गरिएको हो ।

चितवनमा पहिलोपटक प्याराग्लाइडिङको व्यावसायिक उडान सुरु गरेको हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनीका बोर्ड डाइरेक्टर शालिक दवाडीले नयाँ वर्षको पहिलो दिनको अवसर पारेर उडान सुरु गरिएको जानकारी दिनुभयो । यसको औपचारिक उदघाटन भने पछि गरिने उहाँले बताउनुभयो ।

चितवनको चौकीडाँडाबाट प्याराग्लाइडिङ उडेर तनहुँको देवघाट गाउँपालिका–५ मा रहेको त्रिशूली नदीको किनारमा अवतरण हुनेछ । दवाडीले प्याराग्लाडिङ्ग उडानका लागि लाग्ने ८ हजार रुपैयाँमा २५ प्रतिशत छुट दिएर ६ हजार शुल्क लिइएको बताउनुभयो ।

१० वटा प्याराग्लाइडिङ्ग उडानका लागि ल्याइएका छन् । दैनिक ४५ जनासम्मले उडान भर्न सक्ने तयारी गरिएको दवाडीले जानकारी दिनुभयो ।

कम्पनीका अध्यक्ष विजय घलेले नयाँ वर्षसँगै चितवनको पर्यटन व्यवसायमा एउटा नयाँ आयाम थपिएको छ । मुग्लिन–नारायणगढ सडकखण्डको भोर्लेबाट ९ किलोमिटर उत्तर र जुगेडीबाट ५ किलोमिटर उत्तर हिँडेपछि चौकीडाँडा पुग्न सकिन्छ ।

चौकीडाँडा १२ सय मिटरको उचाइमा छ । कम्पनीले चौकीडाँडासँगै भरतपुर–२९ कै कविलासबाट पनि प्याराग्लाइडिङको उडान अनुमति लिएको छ । कविलास ५८० मिटरको उचाइमा छ ।

तत्काललाई १० वटा पाइलट राखेर उडान गरिने घलेले जानकारी दिनुभयो । प्याराग्लाइडिङ उडान हुने ठाउँ चौकीडाँडामा कम्पनीले रिसोर्ट २० वटा कोठा सहितको सुविधा सम्पन्न रिसोर्ट समेत खोल्ने तयारी गरेको उहाँले जानकारी दिनुभयो ।

Back to top button