कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको शुभकामना सन्देशः यो वर्ष सुखद र उपलब्धिमूलक बन्न सकोस

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले नयाँ वर्ष २०८० सुखद र उपब्धिमूलक बन्न सकोस भन्ने कामना गर्नुभएको छ ।

आज शुभकामना सन्देश जारी गर्दै उहाँले भन्नुभएको छ,‘विभिन्न आन्दोलनमार्फत प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्दै देशमा आर्थिक-सामाजिक रुपान्तरणसहित समृद्धितर्फको यात्रालाई तीब्र गतिमा अगाडि बढाउने र राष्ट्रलाई आत्मनिर्भर बनाउने हामी सबैको साझा जिम्मेवारी र दायित्व हो ।’

वर्ष २०७९ निर्वाचन मार्फत तीन तहकै नयाँ सरकार गठन गरी सङ्घीयताको कार्यान्वयन पक्षलाई थप मजबुत बनाउन एंव नामकरण मार्फत प्रदेश संरचनाको संस्थागत विकासका लागि महत्वपूर्ण आधार निर्माण गर्ने वर्षको रुपमा रहेको उहाँले उल्लेख गर्नुभएको छ ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकार प्रदेशको आर्थिक सामाजिक रुपान्तरण सहित आम प्रदेशवासीको जीवनस्तर सुधार गर्दै विकास र समृद्धि हासिल गर्न दृढ सङ्कल्पित रहेको बताउनुभएको छ ।

उहाँले प्रदेशभित्रका स्रोत, साधन र प्रचूर प्राकृतिक सम्पदालाई समुचित उपयोग गर्दै प्रदेशलाई समृद्ध एंव समुन्नत बनाउनुपर्ने दायित्व प्रदेश सरकारलाई रहेको भन्दै २०८० साल कोशी प्रदेशको विकास र समृद्धिको जग बसाउने स्मरणीय वर्षका रुपमा अङ्कित हुने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले यसका लागि सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग र योगदान गर्दै विकास निर्माण र समृद्धिको महाअभियानमा सहभागी हुन अपील समेत गनुएभएको छ । मुख्यमन्त्री कार्कीले नयाँ आशा, उमङ्ग र उत्साह सहित नयाँवर्ष २०८० ले सुखी र खुसीको सञ्चार सहित सुदृढ राष्ट्रिय एकता, विकास र समृद्धिको सन्देश दिन सकोस् भन्ने शुभकामना समेत ब्यक्त गर्नुभएको छ ।

Back to top button