वैसाख तेस्रो साता भारत भ्रमणमा जाने प्रधानमन्त्री प्रचण्डको तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बैशाखको तेस्रो साता भारत भ्रमणमा जाने हुनुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाने हुनुभएको हो ।

नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले गत सोमबार बालुवाटारमा प्रधानमन्त्रीलाई भेटी भारत भ्रमणको औपचारिक निम्तो दिएको स्रोतले बताएको छ ।

राजदूत श्रीवास्तव अघिल्लो साता प्रधानमन्त्री दाहालको भ्रमणको चाँजो मिलाउन दिल्ली जानुभएको थियो । आइतबार दिल्लीबाट फर्किएलगत्तै राजदूत श्रीवास्तव सोमबार प्रधानमन्त्री प्रचण्डसँग भारत भ्रमणको विषयमा छलफल गरेको बालुवाटार स्रोतले बताएको छ ।

प्रधानमन्त्री भएलगत्तै दाहाललाई भारतीय प्रधानमन्त्री मोदीले भ्रमणको निम्तो दिनुभएको थियो । तर, नेपालको आन्तरिक राजनीतिमा भएको उचारचढावले प्रधानमन्त्रीको भारत भ्रमण ढिला हुँदै आएको थियो ।

स्रोतका अनुसार, जाने निश्चित मिति भने तय भएको छैन् यद्यपी बैशाख तेस्रो साता दिल्ली जाने तयारी रहेको छ । उहाँको भारत भ्रमणको मिति अब बस्ने मन्त्रिपरिषद् बैठकले टुंग्याउने बताइएको छ ।

परराष्ट्र मन्त्रालयले पनि प्रधानमन्त्रीको भारत भ्रमणको तयारी सुरू गरेको छ । एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुस ११ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

राष्ट्रपति निर्वाचन, फेरिएको सत्ता गठबन्धन, मन्त्रिमण्डलको पूर्णतालगायतका आन्तरिक समस्याका कारण प्रधामन्त्री दाहालको भारत भ्रमण ढिला भइरहेको थियो । राष्ट्रपति बनाउने विषयमा असमझदारी भएपछि प्रचण्डले एमालेसँगको गठबन्धन तोड्नुभएको थियो ।

राष्ट्रपति निर्वाचनका बेला प्रचण्डले नेपाली कांग्रेससँग नजिकिनुभएको थियो । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा सघाएपछि प्रचण्डलाई अहिले कांग्रेसको समर्थन रहेको छ ।

Back to top button