हाम्रा पर्वहरु राष्ट्रिय एकताको माध्यम बन्न सकोस्ः मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले हाम्रा हरेक पर्वहरु राष्ट्रिय एकताको माध्यम बन्न सकुन् भन्ने कामना गर्नुभएको छ ।

सिरुवा पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले भन्नुभएको छ,‘ यी पर्वहरुबाट सबैमा एकताको भावना विकास गराउन सहयोग पुगोस् ।’

संसारभरि छरिएर रहने नेपालीलायृ शुभकामना व्यक्त गर्दै कार्कीले बहुजातीय, बहुभाषिक, बुह साँस्कृति र बहुधार्मीक विविधतायुक्त नेपाली समाजमा यस्ता पर्वहरु आपसी मित्रता, सद्भाव र एकताको प्रतिकका रुपमा रहेको बताउनुभएको छ ।

‘हाम्रो यो विविधता नेपालका लागि मात्र नभएर विश्व समुदायका लागि पनि एक महत्वपूर्ण पूँजी हो’ मुख्यमन्त्री कार्कीद्वारा जारी सन्देशमा उल्लेख छ ।

नयाँ वर्षको आरम्भसँगै सुरु हुने सिरुवा पर्व कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, उदयपुरलगायत तराई क्षेत्रका अन्य जिल्लाहरुमा धुमधामका साथ मनाइन्छ ।

तराईमा बस्ने आदिवासी राजवंशी, थारु, कोचे, मेचे, उराँव, किसान, धिमाल, ताजपुरिया, गनगाई र माझी समुदायले सिरुवा पर्व मनाउने गर्दछन् ।

यो पर्वलाई समय परिवर्तनको संकेतको रुपमा पनि मनाउने गरिएको भन्दै मुख्यमन्त्री कार्कीले गर्मी मौसम सुरु हुन लागेको सन्देश समेत प्रवाह गर्ने बताउनुभएको छ ।

यो पर्वमा पानीको बढी भन्दा बढी प्रयोग हुने गरेकाले पानीले शीतलता प्रदान गर्छ भन्ने मान्यताका साथ यस पर्वलाई ‘जुडशीतल’ पनि भन्ने गरिएको उल्लेख गर्नुभएको छ ।

सिरुवा जुडशीतलमा आदिवासी समुदायको नजिकमा रहेका धार्मीक स्थलमा मेला लाग्ने गर्दछ । यस्तो मेला वैशाख महिनाभरि नै ठाउँ अनुसार फरकफरक दिनमा लाग्ने र स्थानीय ग्राम देवताको पूजा गर्ने प्रचलन छ । यसबाट उत्पादन बढी हुने जनविश्वास रहि आएको छ ।

जुडशीतल मनाउने दिन अग्रजले बालबालिकाको शीरमा पानी छर्कने र बोटविरुवामा पानी हाल्ने चलन छ ।

Back to top button