जापानी प्रधानमन्त्रीलाई लक्षित गर्दै बिष्पोट

जापानी प्रधानमन्त्री फुमियो किशिदा एक र्‍यालीलाई सम्बोधन गर्न लागेका बेलामा नजिकै ठूलो विस्फोट भएको छ । त्यसपछि उहाँलाई त्यहाँबाट निकालिएको छ । यो घटना जापानको पश्चिमी शहर वाकायामामा आज बिहान भएको हो।

प्रधानमन्त्री किशिदामाथि स्मोक बम प्रहार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । बीबीसीले टिभी फुटेजमा अधिकारीहरूले क्षेत्र खाली गर्दै र एक व्यक्तिलाई घटनास्थलबाट पक्राउ गरेको देखिएको उल्लेख गरेको छ ।

प्रहरीले एक जनालाई पक्राउ गरेको जनाएको छ । तर, प्रहरीले यसबारे थप जानकारी दिन अस्वीकार गरेको छ । यद्यपि एनएचकेका अनुसार पक्राउ परेका व्यक्तिलाई काममा अवरोध गरेको आशंकामा पक्राउ गरिएको हो।

समाचार एजेन्सी रोयटर्सका अनुसार विस्फोटको आवाज सुनेपछि प्रधानमन्त्री किशिदालाई सुरक्षा घेरामा लगिएको थियो । यसै क्रममा जापानको आधिकारिक मिडिया एनसीएचकेका अनुसार घटनास्थलमा प्रहरीले एक व्यक्तिलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

यसअघि पनि जापानका पूर्वप्रधानमन्त्रीमाथि आक्रमण भएको थियो। गत वर्ष जुलाईमा देशका पूर्वप्रधानमन्त्री सिन्जो आबेको बैठकका क्रममा गोली हानी हत्या भएको थियो ।

सन्–२०२२ को जुलाईमा देशको पश्चिमी भागको नारामा सडकमा भाषण दिइरहेका बेला उहाँमाथि आक्रमण भएको हो । उहाँलाई तत्काल अस्पताल लगिएको र उपचारको क्रममा मृत्यु भएको हो । पछि डाक्टरहरूले आबेलाई गोली लागेपछि हृदयघात भएको बताएका थिए ।

Back to top button