ज्यान मार्ने उद्योगमा फरार युवा उदयपुरबाट पक्राउ

उदयपुर । काभ्रेपलाञ्चोक जिल्लाबाट ज्यान मार्ने उद्योगमा फरार रहेका सुनसरीका एक युवा आज हतियारसहित उदयपुरको बेलका नगरपालिका–३ टप्पुबाट पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाका प्रहरी निरीक्षक सुभाष खनालको नेतृत्वमा खटिएको टोलीले आरोपित सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–७ का ३० वर्षीय कुमार भनिने जयकुमार राईलाई पक्राउ गरेको हो ।

राईको साथबाट प्रहरीले लोड गरिएको भरुवा बन्दुक १ थान र ५ राउण्ड गोली लोड भएको म्याग्जिन सहितको मेडिन युएसए लेखिएको सेमी अटोमेटिक सानो पेस्तोल १ थान फेला पारेको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मोहन थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्ला अदालत काभ्रेपलाञ्चोकको पक्राउ पुर्जी आदेशसहितको ईलाका प्रहरी कार्यालय बनेपाको पत्रका आधारमा पक्राउ गरिएको हो । राई घटनालगत्तै उदयपुरको वेलका नगरपालिका क्षेत्रमा लुकिछिपी बस्दै आएको सूचनाका आधारमा पक्राउ गरिएको इन्स्पेक्टर थापाले बताउनुभयो ।

यस्तै, राईलाई इ.प्र.का. रामपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

Back to top button