बुट्टाबारीलाई हराउँदै फिक्कललाई उपाधि

इलाम । तेस्रो सन्दकपुर गोल्डकपको उपाधि फिक्कल युनाइटेडले जितेको छ । सन्दकपुर गाउँपालिका—३ स्थित सातखाल्डे खेलमैदानमा जारी प्रतियोगिताको फाइनल खेलमा बुट्टाबारी युनाइटेडलाई ३-२ गोल अन्तरले हराउँदै फिक्कलले उपाधि जितेको हो ।

खेलमा सुरुवाती अग्रता फिक्कलले लिएको थियो । १२ औं मिनेटमा नयन प्रधानले सुरुवाती गोल गर्नुभयो । २३ औं मिनेटमा शौरभ कार्कीले हेडर मार्फत गोल गर्दै अग्रता दोब्बर बनाउनुभयो ।

खेलको ५२ औं मिनेटमा बुट्टाबारीका कप्तान रोमन खवासले पेनाल्टी मार्फत गोल गर्दै खेललाई २– १ मा ल्याउनुभयो । ५८ औ मिनेटमा पुनः शेखर राईले गोल गरेपछि खेल ३-१ को अन्तरमा पुग्यो । खेलको ६६ औ मिनेटमा बुट्टाबारीका रोमनले पेनाल्टी मार्फत गोल थपेपनि उपाधि जित्न पर्याप्त भएन ।

प्रतियोगिताको सर्वाधिक गोलकर्ता फिक्कलका शेखर राई घोषित हुनुभयो । उत्कृष्ट डिफेन्डर आयुष क्षेत्री, उत्कृष्ट गोलरक्षक सर्जन लिम्बु घोषित भए । उहाँहरुले जनही ४ हजार प्राप्त गर्नुभयो । प्रतियोगिताको उदियमान खेलाडी देउराली स्पोर्टिङ क्लबका निशान राई घोषित हुनुभयो ।

देउराली स्पोर्टिङ क्लबको आयोजना र सन्दकपुर गाउँपालिकाको संरक्षक रहेको प्रतियोगितामा इलाम, झापा, ताप्लेजुङ र ललितपुरका ८ टोलीको सहभागिता थियो । अइन्द्र राईको अध्यक्षतामा भएको समापन समारोहमा इलाम क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य महेश बस्नेतको प्रमुख आतिथ्यता थियो ।

प्रतियोगिताको बिजेता, उपविजेता तथा व्यक्तिगत विधाका विजेतालाई प्रमुख अतिथि बस्नेत, गाउँपालिका अध्यक्ष तुलाबहादुर गुरुङ, उपाध्यक्ष हरि लुङ्गेली लगायतले पुरस्कार वितरण गर्नुभयो । चैत्र २४ गतेबाट प्रतियोगिता सुरु भएको थियो ।

Back to top button