रवि लामिछानेले निर्वाचन जिते पुनः उपनिर्वाचन हुने निश्चित छ : एमाले सचिव भट्टराई

भरतपुर । नेकपा एमालेका सचिव योगेश भट्टराईले रवि लामिछानेले १० बैशाखको निर्वाचन जिते पुनः उपनिर्वाचन हुने निश्चित रहेको दाबी गर्नुभएको छ । आज बिहान चितवनमा पत्रकार सम्मेलनमा बोल्दै पूर्वमन्त्री भट्टराईले यस्तो बताउनुभएको हो ।

उहाँले सुशासन र भ्रष्टाचारको नारा बोकेर हिँड्ने लामिछानेको चरित्र उदाङ्ग भएको टिप्पणी समेत गर्नुभयो। गृहमन्त्री हुँदा लामिछानेले सार्वजनिक खरिद ऐनविरुद्ध ठेक्का दिएको कुराले लामिछानेको चरित्र प्रष्ट भएको बताउनुभयो।

लामिछानेको भर्जिनिटी समाप्त भएको उहाँको भनाई छ। ‘उहाँको भर्जिनिटी समाप्त भइसक्यो, उहाँ अर्गानिक हुनुहुन्न। गृहमन्त्री भएर छोटो समयमा गरेको कामले नै प्रष्ट पार्नुभयो,’ सचिव भट्टराईले भन्नुभयो,‘मन्त्री छोड्नु अघिल्लो रात सार्वजनिक खरिद ऐनविरुद्ध ठेक्काको निर्णय भएको छ। हामी माथि सुशासनको कुरा उठाउने लामिछानेले गरेको कामले उहाँकै धज्जी उडायो।’

नागरिकताको विषयमा लामिछानेले गल्ती नभई राज्यलाई ढाटेको बताउनुभयो । ‘लामिछानेले गल्ती गरेको होइन ढाँटेको हो। समाजलाई ढाट्नु अपराध हो।’ भट्टराईले भन्नुभयो,‘यो पाँच वर्ष ढाँटेको कुरामा प्रायश्चित गरेर बस्न पर्थ्यो। तर उहाँ जनतामा उल्टै भ्रम छरेर बस्नु भएको छ।’

नागरिकता प्रकरणमा लामिछाने दोषी देखिपछि सर्वोच्च अदालतले उहाँको पद खारेज गरेको थियो। आउदो बैशाख १० गते चितवन–२ मा उपनिर्वाचन हुँदैछ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछानेनै उम्मेदवार बन्नुभएको छ । एमालेबाट भने रामप्रसाद न्यौपानेले उम्मेदवारी दिनुभएको छ ।

Back to top button