कतारी राजकुमारी थानीद्वारा अन्नपूर्ण आरोहण

म्याग्दी । कतारको राजपरिवारकी सदस्य शेखा अस्मा अल थानीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गर्नुभएको छ ।

इलाइट एक्सपिडिसनमार्फत उहाँ हिजो अपराह्न ४ बजे ८ हजार ९१ मिटर अग्लो अन्नपूर्णको चुचुरोमा पुग्न सफल हुनुभएको हो । अन्नपूर्ण प्रथम हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित छ ।

पर्वतारोही निर्मल पुर्जा (निम्स) नेतृत्वको शेर्पाहरूको टोलीको सहयोगमा थानीले अन्नपूर्ण आरोहण गर्नुभएको इलाइट एक्सपिडिसनका निर्देशक मिङ्मा डेभिड शेर्पाले जानकारी दिनुभयो। ‘विश्वको दशौँ अग्लो शिखर अन्नपूर्ण हिमालको आरोहण गर्ने थानी पहिलो कतारी महिला बन्नुभएको छ’, उहाँले भन्नुभयो, ‘आस्मासहित अमेरिकाकी अन्ना गुटु र फ्रान्सकी अलस्डेयर स्कट म्याकेन्जीले पनि अन्नपूर्ण आरोहण गर्नुभएको छ ।’

टोलीमा रहनुभएका मिङ्मातेन्जी शेर्पा, दोर्ची शेर्पा र तेजन गुरुङले पनि अन्नपूर्ण सफलतापूर्वक आरोहण गर्नुभएको छ । राजकुमारी अल थानीले यसअघि सगरमाथा, धवलागिरि, कञ्चनजङ्गा, लोहोत्से, आमादब्लम, मनास्लु, केटु हिमालको आरोहण गर्नुभएको थियो।

पेसाले चिकित्सक रहनुभएकी थानीले कतारको ओलम्पिक कमिटीको पनि नेतृत्व गर्नुभएको थियो । अन्नपूर्ण हिमाल आरोहणका लागि २०७९ फागुन २२ गते थानी म्याग्दीमा आउनुभएको हो ।

अन्नपूर्ण प्रथम हिमालमा हिजो बिहानदेखि चालु वर्षको वसन्त यामको आरोहण सुरु भएको हो । सेभेट समिट ट्रेकका पासाङनुर्वु शेर्पाको नेतृत्वमा ३ नेपाली, १ पाकिस्तानी र १ जना अष्ट्रेलियन पर्वतारोहीले पनि हिजो अन्नपूर्ण आरोहण गर्नुभएको थियो।

यस वर्ष अन्नपूर्ण हिमाल आरोहणका लागि पर्यटन विभागबाट ५ वटा समूहका ४५ जनाले अनुमति लिएका छन् । अन्नपूर्ण हिमाल संसारको दशौँ अग्लो हिमाल हो । विसं १९५० मा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण पहिलोपटक आरोहण गर्नुभएको थियो । मौरिसले अन्नपूर्ण चढेको ३ वर्षपछि १९५३ मा सर एडमण्ड हिलारी र तेन्जिन नोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएको थियो ।

Back to top button