सेती प्रादेशिक अस्पतालमा कारोना सङ्क्रमित एक महिलाको मृत्यु

धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कञ्चनपुरकी कोरोना भाइरस सङ्क्रमित ७३ वर्षीया एक महिलाको मृत्यु भएको छ । अस्पतालको आइसीयूमा उपचाररत महिलाको आज बिहान मृत्यु भएको हो ।

प्रादेशिक अस्पतालका प्रवक्ता तथा वरिष्ठ फिजिसियन डा. शेरबहादुर कमरले अस्पतालको कोभिड वार्डको आइसीयुमा उपचारत महिलाको आज मृत्यु भएको पुष्टि गर्नुभयो ।

डा. कमरले भन्नुभयो,‘उहाँ मुटु रोगी हुनुहुन्थ्यो। केही दिनअघि अस्पताल भर्ना हुनुभएको थियो। पीसीआर परीक्षणमा रिपोर्ट पोजिटिभ देखिएको थियो। उपचारकै क्रममा आज निधन भएको हो।

सुदूरपश्चिममा झन्डै १ वर्षयता कोरोनाका कारण हुने मृत्युदर शून्य रहेको थियो। सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय कोरोना भाइरस सङ्क्रमितको संख्या दिनप्रतिदिन बढ्दो क्रममा रहेको छ।

स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कानुसार पछिल्लो ११ दिनमा प्रदेशमा २ सय २३ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । यो अवधिमा पीसीआर र एन्टिजेन पद्धतिबाट ७ सय ८४ नमूना परीक्षण गरिएको छ ।

संङ्क्रमणदर बढेसँगै रोगले हुने मृत्युदर पनि बढ्न सक्ने स्वास्थ्यकर्मीको भनाइ छ । कोरोना सङ्क्रमणदर बढेसँगै सक्रिय संक्रमितको संख्या पनि बढ्न थालेको छ। हाल कैलालीमा २२ र कञ्चनपुरमा १ सक्रिय बिरामी छन् ।

यस्तै, भारतमा कोरोना सङ्क्रमण बढेसँगै नेपालमा पनि बढ्न थालेको हो । हिजो मात्रै मुलुकभर ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।

Back to top button