मुलुकमा चाँडै लगानीको वातावरण बनाउन पहल गर्छु : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आजदेखि पदभार सम्हाल्नुभएको छ । काठमाडौंको टेकुस्थित महासंघको कार्यालयमा पुगेर उहाँले पदभार सम्हाल्नुभएको हो ।

त्यस क्रममा ढकाललाई महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले कार्यभार हस्तान्तरण गर्नुभएको थियो। पदभार ग्रहणपछि अध्यक्ष ढकालले आफ्नो कार्यकालमा विशेष गरी पाँचवटा विषयलाई प्राथमिकतामा राखेको बताउनुभयो।

उहाँले मुलुकमा देखिएको आर्थिक संकट समाधानका लागि रणनीति तयार गर्ने पहिलो प्रतिवद्धता रहेको बताउनुभयो। यस्तै राज्य र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गर्दै मुलुकमा लगानीको वातावरण बनाउन पहल गर्ने उहाँको भनाइ छ।

ढकालले दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने र व्यवसायीहरूको मनोबल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्न दबाब दिने धारणा राख्नुभयो।

यस्तै, महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले आफूले नयाँ अध्यक्षलाई सदैव साथ र समर्थन गर्ने बताउनुभयो । उहाँले विधान अनुसार महासंघ चलेको र निर्वाचनबाट आएका कार्यसमिति सदस्यले अहिलेको चूनौतिलाई समाधानका लागि पहल गर्ने विश्वास व्यक्त गर्नुभयो।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था भएअनुसार गत बिहीबार सम्पन्न ५७ औं साधारणसभा मार्फत ढकाल २० औं अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

Back to top button