सत्तासिन दलहरु सत्ताकेन्द्रित खेलमा लिपत हुनु दुर्भाग्यपूर्णः कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकको आर्थिक अवस्था डरलाग्दो रूपमा धरासायी हुने तर्फ गइरहेपनि सत्तासिन दलहरू उदासीन भएको आरोप लगाउनुभएको छ ।

उहाँले गम्भीर रूपमा बहस ,छलफल हुनुपर्ने बिषयमा भन्दा सत्ताकेन्द्रित फोहरी खेलमा मात्र दलहरू लिप्त हुनु दुर्भाग्यपूर्ण भएको आरोप लगाउनुभयो ।

आज केन्द्रीय पदाधिकारी र जिल्ला अध्यक्षहरूसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले प्रदेश संरचना आर्थिक रूपमा खर्चिलो र बोझ भएको भन्दै सेतो हात्ती मुलुकलाई आवश्यक नभएको बताउनुभयो ।  उहाँले भन्नुभयो,‘ तलब भत्ता खान नै ऋण लिनुपर्ने भयो ,यस्तो अवस्थामा प्रदेश संरचनालाई निरन्तरता दिन हुँदैन, खारेज गर्नुपर्छ।’

मुलुकमा सबै क्षेत्रमा बेथिति र विसङ्गति हाबी भएको भन्दै थापाले सस्तो लोकप्रियता नखोजी मुलुकको चुनौती समाधान गर्न सबै राष्ट्रवादी प्रजातान्त्रिक र हिन्दुबादी शक्ति एक हुनुपर्ने बताउनुभयो ।

राप्रपा नेपालले अंगीकार गरेको वैचारिक रोडम्यापले मात्र मुलुकको स्वाधीनता, लोकतन्त्र र आर्थिक सम्बृद्धि हुने जिकिर गर्नुभएका थापाले उच्च मनोबल सहित संगठन निर्माणमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

बैठकमा महामन्त्री त्रय भास्कर भद्रा, सुशील श्रेष्ठ र राजाराम बर्तौलाले सचिवालय , प्रशिक्षण र संगठन सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । जिल्ला अध्यक्षहरूले जिल्लाको वस्तुस्थितिको बारेमा जानकारी गराउनुभएको थियो ।

Back to top button