रौतहट झडपमा गोली चलाउनेमा संलग्न १६ जना पक्राउ

जनकपुर । रौतहटको गढीमाई नगरपालिका–८ स्थित सडक विस्तारको क्रममा भएको झडपमा गोली चलाएको आरोपमा १६ जना पक्राउ परेका छन् ।

हिजो दिउँसो झडपमा चलेको गोली लागेर स्थानीय ५० वर्षीय रामकुमार राय यादवको मृत्यु भएको थियो । स्थानीय निरन्जन राय यादव र प्रताप यादवलाई पनि गोली लागेको छ ।

प्रहरीका अनुसार गोली लागेर घाइते निरञ्जन, रामकुमार र अन्य २ घाइतेको उपचार गरुडास्थित ग्राण्डि अस्पतालमा भइरहेको छ । निरञ्जनको अवस्था गम्भीर रहेको छ ।

उक्त गोली काण्डमा संलग्न रहेको आरोपमा १६ जना पक्राउ परेका हुन् । रौतहटका प्रहरी प्रवक्ता डीएसपी उमाशंकर यादवले गोली चलाएको आशंकामा १६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा रामसेवक राय, लालबाबु यादव, दिनेश यादव, मिथिलेश यादव, विनेश यादव, बच्चा गिरी, श्याम यादव, प्रदीप यादव, उमेश यादव लगायतका छन् । घटनापछि सो गाउँका धेरै व्यक्ति घर छाडेका छन् । हिजैबाट त्यहाँ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

मृतक यादवको शव अहिले पनि अस्पतालमै छ । शव आफन्तले बुझेका छैनन् । घटनामा संलग्नमाथि कारबाही र क्षतिपूर्तिको माग राख्दै उनको परिवारले शव नबुझेको बुझिएको छ ।

धोबिनियास्थित साँघुरो बाटोलाई चौडा गर्ने क्रममा वारिपारीका रामइश्वर राय यादव र राजकुमार यादव पक्षबीच भएको झडपमा गोली चलेको थियो । झडपमा रामइश्वर पक्षले गोली चलाएको आरोप लागेको छ ।

Back to top button