प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको तयारी थाल्छु : परराष्ट्रमन्त्री साउद

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणबारे तयारी थाल्ने बताउनुभएको छ ।

पदभारग्रहण पछि मन्त्रालयमा पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै परराष्ट्रमन्त्री साउदले मन्त्रालयका अधिकारीसँग छलफल गरेर भ्रमणबारे तयारी थाल्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो,‘मन्त्रालयका कर्मचारीसँग सुरुमा ब्रिफिङ लिन्छु। त्यसपछि हामी छलफल अगाडि बढाउछौं। प्रधानमन्त्रीको भारत भ्रमणबारे तयारी गरिरहेका कर्मचारीसँग ब्रिफिङ लिएर अगाडि बढाउँछु।’

मन्त्री साउदले आगामी दिनमा छिमेकी र विश्वभरीका देशको सम्बन्धलाई घनिष्ट र सौहार्दपूर्ण बनाउँदै लैजाने बताउनुभयो।

उहाँले भन्नुभयो,‘नेपाल शान्तिपूर्ण मुलुक हो। संसारका सबै देशहरूसँग सौहार्दपूर्ण सम्बन्ध रही आएको छ। आगामी दिनमा पनि छिमेकी र विश्वभरीका देशको सम्बन्धलाई घनिष्ट र सौहार्दपूर्ण बनाउँदै लैजानेछौं।’

Back to top button