एमालेको मिसन ग्रासरुट अभियान अन्तर्गत आजदेखि प्रदेश समीक्षा सुरु

काठमाडौं । नेकपा एमालेको मिसन ग्रासरुट अभियान अन्तर्गत आजदेखि प्रदेश समीक्षा सुरु हुने भएको छ। दुई महिना अघि सुरु भएको अभियान अन्तर्गत आजदेखि प्रदेश समीक्षा सुरु हुने भएको हो।

एमाले केन्द्र पार्टी कार्यालयका सचिव डाक्टर भीष्म अधिकारीका अनुसार कर्णालीमा वैशाख ४ र ५, लुम्बिनीमा ६ र ७ तथा सुदूरपश्चिममा १० र ११ गते समीक्षा बैठक हुनेछ। यसैगरी १२ र १३ गते गण्डकी, १४ र १५ गते मधेस प्रदेशमा समीक्षा बैठक हुने छ।

वैशाख १९ र २० गते बागमती, २१ गते सम्पर्क समन्वय कमिटी र २२ गते उपत्यका विशेष कमिटीको समीक्षा बैठकको तयारी रहेको अधिकारीले जानकारी दिनुभयो ।

प्रदेशका समीक्षा बैठकमा महासचिव शंकर पोखरेल उपस्थित हुने, उपमहासचिवहरु प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल आवश्यकता अनुसार समीक्षा बैठकमा जाने एमालेले जनाएको छ। एमालेले पार्टीको संगठन विस्तार र सुदृढीकरणका लागि दुई महिने मिसन ग्रासरुट अभियान चलाएको हो।

केन्द्रीय पदाधिकारीसहित केन्द्रीय सदस्य, प्रदेश, जिल्ला सदस्यहरुलाई भूगोलमा जिम्मेवारी दिएर पार्टीले विभिन्न प्रदेश, जिल्ला र पालिकामा पठाएको थियो। उपाध्यक्षहरुलाई प्रदेश, सचिवहरुलाई प्रदेशका जिल्ला, केन्द्रीय सदस्यहरुलाई पालिकामा खटाइएको थियो।

यस्तै वैशाखको अन्तिम वा जेठको पहिलो हप्ता पार्टीको केन्द्रीय कमिटी बैठक बस्ने तयारी रहेको एमालेका एक पदाधिकारीले जानकारी दिए । उहाँका अनुसार पार्टीले मध्य पहाडमा आफ्नो शक्ति प्रदर्शन गर्नका लागि मंसिरमा मध्यपहाडी लोकमार्ग मार्फत मेची महाकाली अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।

Back to top button