प्रदेश र स्थानीय सरकार बीचको सम्बन्ध व्यवहारिक बनाउनुपर्छः मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश र स्थानीय सरकार बीचको सम्बन्धलाई व्यवहारिक बनाउन आवश्यक रहेको बताउनु भएको छ ।

आज विराटनगरमा आयोजित ‘कोशी प्रदेश समन्वय परिषद’को बैठकमा बोल्दै मुख्मन्त्री कार्कीले उहाँले प्रदेश र स्थानीय सरकार बीच कुनै समस्या आए आपसी समन्वयबाटै समाधान गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

उहाँले कुनै समस्या आउँदैमा आमसञ्चार माध्यममा छरपस्ट नपार्न स्थानीय निकायका पदाधिकारीहरुलाई निर्देशन समेत दिनुभयो । मुख्यमन्त्री कार्कीले प्रदेश र स्थानीय दुबै सरकार वित्तीय हिसावले कमजोर भएकाले आपसमा समन्वय गरेर काम गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नभयो–‘आगामी वर्षदेखि प्रदेश सरकारको अर्थ मन्त्रालय अन्तर्गत राजस्व महाशाखा मार्फत स्थानीय तहसँग समन्वय गरेर काम गर्ने पंद्धतिको विकास गर्ने कुरामा प्रदेश सरकारले ध्यान दिने छ ।’

उहाँले वित्तीय हस्तान्तरण अन्तर्गत सशर्तको बजेटमा योजना होइन क्षेत्र मात्र तोकेर स्थानीय तहमा एकमुष्ट बजेट पठाउने कुरामा प्रदेश सरकारले ध्यान दिने बताउनु भयो । त्यस अघि विभिन्न स्थानीय तहका पदाधिकारीहरुले वित्तीय हस्तान्त्रण मार्फत आउने सशर्तको अनुदानमा योजना नै तोकेर आउने गरेको गुनासो गरेका थिए ।

मुख्यमन्त्री कार्कीले स्थानीय तहका पदाधिकारीहरुले उठाएका विषयमा प्रदेश सरकार गम्भीर रहेको बताउँदै योजनाहरु दोहोरिने समस्या, न्यायिक समितिमा देखिएको जनशक्ति अभाव लगायतका विषयमा प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो ।

बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ मा प्रस्तुत हुने वार्षिक नीति तथा कार्यक्रमका सम्बन्धमा, प्रदेश र स्थानीय तहले सञ्चालन गर्ने कार्यहरुको समन्वय, सहजीकरण अनुगमन, राजस्व सङ्कलन तथा बाँडफाँट, स्थानीय तहका आवधिक योजनाहरु निर्माण गर्ने, जिल्ला समन्वय समितिको कार्यव्यवस्थालाई थप प्रभावकारी बनाउन समिति गठन गर्ने, समन्वय परिषदको कामलाई प्रभावकारी बनाउन विभिन्न उपसमितिहरु गठन गर्नेलगायतका विषयमा विभिन्न निर्णयहरु गरेको छ ।

बैठकमा कोशी प्रदेश सरकारका प्रमुख सचिव डा. दीपक काफ्ले छलफलका विषयहरु प्रस्तुत गर्नु भएको थियो । छलफलका क्रममा समन्वय परिषदका सदस्यहरु, प्रदेश मन्त्रालयका सचिवहरुले प्रस्तुत विषयहरु माथि आ–आफ्नो धारण राख्नुभएको थियो ।

Back to top button