अर्थतन्त्रको समस्या समाधानका लागि सरकारले अपेक्षाकृत काम गर्न नसकेको छैनः अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकारले अपेक्षाकृृत काम गर्न नसकेको स्वीकार गर्नुभएको छ । सरकारले जसरी काम गर्नु पर्ने हो, त्यस अनुसार गर्न नसकेको उहाँले स्वीकार गर्नुभएको हो ।

आज नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गर्न मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री महतले भन्नुभयो, ‘हामीले सुधार ल्याउनुपर्छ, देशको इफिसेन्सी बढाउने चुनौती छ ।’

नीतिगत रुपमा धेरै कुरा भने पनि त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न नसकिएको उहाँले बताउनुभयो । अर्थमन्त्री महतले वर्तमान समयमा निजी उद्योगी व्यवसायीहरुमा असहज, अप्ठ्यारो र दबाब सिर्जना भएको महसुस भएपनि तर केही नहुने अवस्थामा पुगि नसकेको दावी गर्नुभयो ।

उहाँले भन्नुभयो,‘केही अप्ठ्यारा र व्यवधान छन्, सरकार र निजी क्षेत्र मिलेर यी अप्ठ्यारा र व्यवधान हटाउनुपर्छ ।’ महासंघको नेतृत्व बैंकर्सको हातमा पुगेको भन्दै उहाँले देशको अर्थ व्यवस्थाबारे नेतृत्व जानकार रहेको भन्दै समस्या समाधानका लागि एक–अर्कालाई सहयोग गर्ने समय आएको बताउनुभयो ।

बढ्दो साधारण खर्चले निम्त्याएको दायित्वले आर्थिक स्रोतको पहिचान र परिचालनलाई राजनीतिक क्षेत्रबाट तादम्यका साथ सँगसँगै लैजान नसकिएको उहाँले बताउनुभयो । राजनीतिक निर्णय एकपछि अर्को हुँदै जाँदा र त्यसमा प्रतिस्पर्धा हुँदा परिवेश र वास्तविकता अर्कै बन्न पुगेको तर्क गर्नुभएका मन्त्री महतले अब भने ‘आर्थिक सूचांक सकरात्मक बन्ने विश्वास ब्यक्त गर्नुभयो ।

Back to top button