आजदेखि काठमाडौंमा उर्जा सम्मेलन सुरु हुँदै

काठमाडौं । आजदेखि काठमाडौंमा उर्जा सम्मेलन सुरु हुँदैछ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) ले ‘हरित ऊर्जाको बजार विस्तारीकरण’ भन्ने नाराका साथ आयोजना गर्न लागेको आठौं ऊर्जा सम्मेलन ऊर्जा सम्मेलन दुई दिनसम्म चल्ने छ ।

सम्मेलनमा भारत, बंगलादेश, भुटान, श्रीलंकालगायत ३० भन्दा बढी देशका ३०० अन्तर्राष्ट्रिय प्रतिनिधिहरु सहभागी हुनेछन् । साथै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उच्च अधिकारीहरू, पावर ट्रेडिङ कम्पनीहरू, विद्युत् उत्पादकहरू, वित्तीय संस्थाहरू, प्रसारण तथा वितरण कम्पनीहरू, परामर्शदाता कम्पनीहरूलगायत अन्य ऊर्जा क्षेत्रका सरोकारवालाहरूको समेत सम्मेलनमा सहभागीता रहनेछ ।

सम्मेलनमा नेपाली जलविद्युत् आयोजना र भारतीय क्रेताबीच प्रत्यक्ष विद्युत् खरिद सम्झौता (पीपीए), नवीकरणीय ऊर्जा विकास र बजार विस्तारका लागि एमओयूमा हस्ताक्षर गर्ने इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।

यस्तै सम्मेलनमा नेपालको विद्युत् बजार, प्रशारण पूर्वाधार, नेपालको जलविद्युतको माग, प्रविधि, नवप्रवर्द्धन सोलार, हाइड्रोजन, अन्तरदेशीय विद्युत् व्यापार, दिगो र जलवायु अनुकूलन विकासलगायत विषय समेट्ने गरी १५ वटा सत्र सञ्चालन गरिने इपानका अध्यक्ष एवम् सम्मेलन संयोजक आशिष गर्गले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार सम्मेलनमा विद्युतको लागत कसरी घटाउन सकिन्छ भन्ने विषयको समेत खोजी हुनेछ । सम्मेलनको संरक्षक ऊर्जा मन्त्रालय र सह–आयोजक लगानी बोर्ड छ । इपानले पावर समिट नेपालको ऊर्जा क्षेत्रको बजार विस्तारमा कोशेढुंगा साबित विश्वास ब्यक्त गरेको छ ।

Back to top button