सुरक्षा निकायलाई शक्ति केन्द्र र राजनीतिबाट टाढा राख्छौं : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रष्ठले सुरक्षा निकायलाई शक्ति केन्द्रको पहुँचबाट मुक्त गर्ने दाबी गर्नुभएको छ । आज सिंहदरवारमा पत्रकार सम्मेलन गर्दै उहाँले सुरक्षा निकायालाई २ वटा कुराबाट मुक्त गर्ने बताउनुभयो।

‘सुरक्षा निकायलाई २ चिजबाट मुक्त गरिन्छ। त्यो भनेको एउटा राजनीति र शक्ति केन्द्रको पहुँच र अर्को अवाञ्चित गतिविधिबाट टाढा राख्छौं,’ उहाँले भन्नुभयो।

उहाँले सुरक्षा निकाय राष्ट्रको गौरव हुनुपर्ने बताउँदै उनीहरूको मनोबलमा खेलवाड गर्न नहुने प्रस्ट पार्नुभयो।

‘सुरक्षा निकायलाई हाम्रो गौरव हुनुपर्छ भनेका छौं। उनीहरूको मनोबल गिर्‍यो भने वा निष्पक्षता भएन भन्ने कुरा भयो भने हाम्रो सुरक्षा निकायको मनोबल उठ्दैन। त्यही भएर सिस्टम स्थापित गरेर निष्पक्षका आधारमा बढुवा वा जिम्मेवारीका काम सुम्पिन्छ,’ उहाँले भन्नुभयो।

मन्त्री श्रेष्ठले प्रहरीले निश्चितरूपमा आफ्नो भूमिका निर्वाह गर्दै आए पनि कतिपय गुनासा र समस्याहरू सुनिने गरेको बताउनुभयो। त्यस्ता गुनासाहरूको सम्बोधन गर्नुपर्ने उहाँले प्रतिबद्यता जनाउनुभयो। उहाँले शक्ति केन्द्रचाहिँ गरिब र सर्वसाधारणको पहुँचमा हुनुपर्ने उहाँको भनाइ छ।

उहाँले सीमा सुरक्षाका लागि नेपालमा सशस्त्र प्रहरी रहेको बताउँदै राष्ट्रियतामा खलल पुग्न नदिन सरकार गम्भीर रहेको बताउनुभयो।

‘सीमा सुरक्षा बल नामाकारण नभए पनि हामीसँग सशस्त्र प्रहरी छ। सीमा सुरक्षाका निम्ति र राष्ट्रियताका लागि हामी गम्भीर छौं। राष्ट्रियतामा खलल हुने खालका गतिविधि हुन दिन्नौं। त्यसप्रति हामी सचेत छौं। केन्द्रबिन्दुमा राखेर काम गरिरहेका छौं,’ उहाँले भन्नुभयो।

Back to top button