काठमाडौंका मेयरले संविधान मिचेः सांसद तामाङ

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद हितबहादुर तामाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले संविधान मिचेको र कर्तव्य तथा जिम्मेवारीबाट भाग्ने काम गरेको आरोप लगाउनुभएको छ ।

आज प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले मेयर बालेनले बागमती नदी किनारको बस्ती हटाउन खोज्नु संविधान विपरीत र सिंहदरबारको फोहोर नउठाउनु कर्तव्य र जिम्मेवारी विपरीत भएको बताउनुभएको हो ।

‘काठमाडौंका मेयर साहब अलि धेरै नै चर्चामा आउने गर्नुभएको छ । चर्चा यस कारणले कि उहाँले पटक–पटक हरेक सवालमा संविधान मिच्ने, आफ्नो कर्तव्य र जिम्मेवारी बोध नगर्ने र गैरउत्तरदायी ढंगले प्रस्तुत हुने तरिकाले यो अवस्था सिर्जना भइरहेको छ’ उहाँले भन्नुभयो ।

सांसद तामाङले ११ चैतमा काठमाडौं महानगरपालिकाले सुकुम्बासी बस्ती खाली गर्न भनी जारी गरेको सूचना संविधान विपरीत भएको पनि बताउनुभयो ।

‘२१ चैतमा काठमाडौं महानगरपालिकाले एउटा सूचना जारी गरेको थियो । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका अनधिकृत बसोबासलाई ७ दिनभित्र हटाउन अनुरोध गरिएको थियो, निर्देशन दिइएको थियो, यदि नहटाएमा त्यसलाई क्षतिपूर्ति सम्बन्धित व्यक्तिले तिर्ने गरी महानगरपालिकाले हटाउँछ । यो संविधान विपरीत कुरा हो’ उहाँले भन्नुभयो ।

नेपालको संविधानको अनुसूची ९ मा सुकुम्बासीसँग सम्बन्धित समस्या संघ प्रदेश र स्थानीय तहले समन्वयात्मक ढंगले समाधान गर्ने गरी साझा सूचीमा राखेको पनि तामाङले बताउनुभयो ।

उहाँले सिंहदरबारभित्रको फोहोर नउठाउने र उठाउने कम्पनीको इजाजत खारेज गर्ने धम्की दिनु मेयर बालेनको कर्तव्य र जिम्मेवारी विपरीत भएको पनि बताउनुभयो । काठमाडौं महानगरपालिकाले नुवाकोटको ओखरपौवा र बञ्चरेडाँडामा फोहोर फालेर त्यस क्षेत्रको जनताको स्वच्छ वातावरणमा बस्न पाउने हक हनन गरेको पनि सांसद तामाङले बताउनुभयो ।

‘यो काठमाडौं महानगरपालिकाले बारम्बार संविधान मिच्ने र संविधानमा व्यवस्था भएको जनताको अधिकारलाई कुण्ठित तुल्याउने काम किमार्थ गर्न पाइन्न र त्यहाँका जनतालाई फोहोरसँग अलग राख्नको निमित्त वैज्ञानिक ढंगले जग्गाको रेखांकन गरेर त्यहाँका प्रभावित किसानहरुलाई जग्गाको अधिग्रहण गरी उनीहरुलाई मुआब्जा दिने व्यवस्था गरियोस्’ उहाँले भन्नुभयो ।

नुवाकोटबाट निर्वाचित सांसद तामाङले संसदले सर्वदलीय समिति बनाएर ओखरपौवा र बञ्चरेडाँडाको यथार्थ स्थितिको अध्ययन गरेर सरकारलाई सुझावसहितको प्रतिवेदन दिनुपर्ने माग गर्नुभएको छ । ‘सभामुखमार्फत सरकारलाई र काठमाडौँ महानगरपालिकालाई त्यही किसिमको निर्देशन दिनको निमित्त म हार्दिक अनुरोध गर्न चाहन्छु’ सांसद तामाङले भन्नुभयो ।

Back to top button