लालबन्दीमा फोहरमा फालिएको अवस्थामा नक्कली नोट बरामद

सर्लाही । सर्लाहीको लालबन्दीमा आज ठूलो परिमाणमा नक्कली नोट फेला परेको छ। लालबन्दी नगरपालिका–७ स्थित फोहरमा फालिएको अवस्थामा एक हजारको ५ सय ३० वटा नक्कली नोट फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

एउटा निजी विद्यालयको पछाडि फोहरमा फालिएको अवस्थामा ठूलो परिमाणमा नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ।

फोहरमा फालिएको अवस्थामा ५ सय ३० वटा हजारको नोट फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक नरेश राज सुवेदीले बताउनुभयो। नोटसँगै एक हजार दरको नोट आकारकै ५ सयभन्दा बढी फोटोकपी पेपर समेत फेला परेको छ।

नोट कसले फालेको हो त्यसको अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक सुवेदीले बताउनुभयो। नक्कली नोट जिल्लामा फेला पर्न थालेपछि त्यसको खोज तलास गर्नका लागि प्रहरी अभियानको रुपमा लागि परेको छ।

प्रहरीले कडाई र निगरानी बढाएपछि नक्कली नोट बनाउनेहरू डरले नोट फालेको हुन सक्ने प्रहरी उपरीक्षक सुवेदीको अनुमान छ। प्रहरीले चैत्र २३ गते सर्लाहीको दक्षिण पश्चिमी क्षेत्र बलराबाट ४ लाख ३८ हजार बराबरको नक्कली नोट बरामद गरेको थियो।

यस्तै, बजारमा पनि नक्कली नोट देखिन थालेपछि प्रहरीले व्यापारी लगायत सर्वसाधारणलाई त्यस्तो नोट प्रति सचेत रहन अनुरोध गरेको छ।

Back to top button