अपांगता रोकथाम तथा पुनःस्थापना कार्यक्रमलाई निरन्तरता दिन जोड

विराटनगर । विराटनगर महानगरपालिकाले अपांगता रोकथाम तथा पुनस्थापना कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएको छ ।

आज दातृ निकायका प्रतिनिधिसहितको छलफलमा कार्यबाहक मेयर सन्तोष न्यौपानेले विगतदेखि सञ्चालित कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

विगत तीन वर्षदेखि विराटनगर महानगरपालिका क्षेत्रभित्र अपांगता रोकथाम तथा पुनस्थापना कार्यक्रम सञ्चालन भइरहेको छ । विराटनगर महानगरपालिका, कोशी प्रदेश सरकार र करुणा फाउण्डेनको त्रिपक्षीय सम्झौताअनुसार तीन वर्षे कार्यक्रम महानगर क्षेत्रभित्र सञ्चालन भइरहेको हो ।

सम्झौताअनुसार तीनवटै निकायले ३३–३३ प्रतिशत बजेटको व्यवस्था गरेका छन् । तर करुणा फाउण्डेशनले यस वर्षदेखि कार्यक्रमबाट हात झिक्ने भएको छ ।

करुणा फाउण्डेशनको दातृ निकाय नेदरल्याण्ड फाउण्डेशन र बंगलादेशको फ्रेन्ससिप फाउण्डेसनका प्रतिनिधिसहितको उपस्थितिमा भएको छलफलमा महानगरका तर्फबाट कार्यबाहक मेयर न्यौपानेले अपांगता रोकथाम तथा पुनःस्थापनाका लागि सहयोग गर्न आग्रह गर्नुभयो ।

उहाँले महानगरको सीमित बजेटले धेरै क्षेत्र समेट्नुपर्ने भए पनि अपांगता रोकथाम तथा पुनःस्थापना कार्यक्रमलाई निरन्तरता दिन तयार रहेको बताउनुभयो । महानगर र प्रदेश सरकार मिलेर भए पनि कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उहाँको जोड थियो ।

कार्यक्रममा सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, महानगरको स्वास्थ्य महाशाखा प्रमुख हैदर अली, अन्तर्राष्ट्रिय सम्पर्क अधिकृत रत्नाकर झालगायतले महानगरभित्र अपांगता भएका व्यक्तिहरुको अवस्था र उनीहरुका लागि महानगरका तर्फबाट प्रवाह भइरहेको सेवालगायतका विषयमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा दातृ निकायका प्रतिनिधिहरुले महानगरभित्र अपांगता भएका व्यक्तिहरुको अवस्था, उनीहरुले पाउने सेवा, आगामी दिनमा गर्नुपर्ने सहयोगलगायतका विषयमा जिज्ञासा राखेका थिए । यसअघि हिजो दातृ निकायका टोलीसित मेयर नागेश कोइरालाले अपांगता रोकथाम र पुनःस्थापनाका लागि प्राविधिक सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

Back to top button