संवैधानिक परिषदको बैठक जारी

काठमाडौं । प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषदको बैठक जारी छ । परिषदका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा सिंहदरबारमा बैठक बसिरहेको हो ।

बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने सम्भावना छ । प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा विपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना, उपसभामुख इन्दिरा राना र कानुन मन्त्रीको समेत जिम्मेवारी पाउनुभएका उपप्रधानमन्त्री पूर्णबहादुर खड्का बैठकमा सहभागी हुनुहुन्छ ।

प्रधानन्यायाधीशको नाम सिफारिस गर्न डाकिने संवैधानिक परिषदको बैठकमा भने कामु प्रधानन्यायाधीशको साटो कानूनमन्त्री पदेन सदस्य हुन्छन् । यही वैशाख ४ गते बालकोटमा बसेको प्रमुख तीन दलका नेताहरुको बैठकले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने सहमति गरेको थियो ।

त्यसअघि नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएशन लगायत कानून व्यवसायीहरुले पत्रकार सम्मेलन गरी तत्काल प्रधानन्यायाधीश नियुक्त गर्न दबाव दिएका थिए ।

चोलेन्द्रशमशेर जबरा अनिवार्य अवकाशमा गएपछि २७ मंसिर २०७९ देखि प्रधानन्यायाधीश पद रिक्त छ । हाल कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की रहनुभएको छ ।

Back to top button