राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि आज भारत लगिँदैछ। छातीमा संक्रमण भएपछि बिरामी परेका राष्ट्रपति पौडेललाई एयर एम्बुलेन्समार्फत् भारत लैजान लागिएको उहाँका निजी सचिव चिरञ्जिवी अधिकारीले जानकारी दिनुभएको छ ।

राष्ट्रपति पौडेललाई उपचारका लागि नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट आफ मेडिकल साइन्सेस (एम्स) मा लेजान लागिएको हो । राष्ट्रपति पौडेलको साथमा चिकित्सकसहित श्रीमती, छोरालगायतको टोली जाने अधिकारीले बताउनुभयो।

राष्ट्रपति पौडेलको स्वास्थ्यमा एकसातादेखि समस्या देखिएको हो। गत साता उहाँ त्रिवि शिक्षण अस्पतालमा तीन दिन भर्ना भएर उपचार गराउनुभएको थियो । सोमबार ‘फलोअप’का लागि अस्पताल जानुभएका पौडेलको छातीमा जमेको पानी निकालेर परीक्षण गर्दा संक्रमण भएको पाइएको थियो।

हिजो फेरि असहज भएपछि उहाँलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो । अस्पतालका चिकित्सककै सल्लाहमै राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लैजान लागिएको उहाँको सचिवालयले जनाएको छ ।

Back to top button