राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा ८ सदस्यीय टोली रुस प्रस्थान

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको ८ सदस्यीय प्रतिनिधि मण्डल रुस प्रस्थान गरेको छ ।

बिहान अध्यक्ष तिमिल्सिनासहित राष्ट्रिय सभा सदस्य वामदेव गौतम, रमेशजंग रायमाझी, दिलकुमारी थापा रावल पार्वतीलगायतको ८ सदस्यीय टिम रुसका लागि प्रस्थान गरेको हो ।

प्रस्थान गर्नुअघि सञ्चारकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष तिमिल्सिनाले भ्रमणमा उच्चस्तरीय भेटघाट र दुई देशका संसदबीच सम्झौता हुने बताउनु भयो ।

उहाँले दुई देशको संसदीय गतिविधिको बारेमा जानकारी गराउने, भ्रमणको आदान प्रदान गर्ने, संसदलाई प्रभावकारी बनाउन एक अर्काबीच सिक्ने कुराहरु उल्लेख हुने बताउनु भयो ।

उहाँले भ्रमणमा ९ जना उच्चस्तरीय व्यक्तित्वहरुसँग भेट गर्ने कार्यसूचि रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘उच्चस्तरीय भेटघाट हुनेछन् । दुई देशका संसदहरुको बीचमा एमओयू पनि हामी गर्नेछौँ ।’

भ्रमण टोलीमा रहनुभएका राष्ट्रिय सभा सदस्य वामदेव गौतमले दुई देशका संसदबीचको सम्बन्ध सुदृढ गर्ने सन्दर्भमा भ्रमण हुन लागेको बताउनुभयो । उहाँले रुसले राष्ट्रिय सभाको प्रतिनिधित्व हुनेगरी उच्चस्तरको भ्रमण पहिलो पटक बोलाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘दुई देशका संसदबीचको सम्बन्ध सुदृढ गर्ने सन्दर्भमा हाम्रो भ्रमण हुँदैछ । यो सम्भवतः रुसले हाम्रो राष्ट्रिय सभाको प्रतिनिधित्व हुनेगरी यति उच्चस्तरको भेट उच्चस्तरको भ्रमण पहिलो होला जस्तो लाग्छ । हाम्रो यस पटकको भ्रमणको महत्व धेरै छ ।’

राष्ट्रिय सभा अध्यक्षको नेतृत्वमा रुस प्रस्थान गरेको ८ सदस्यीय भ्रमणकारी टोली वैशाख १२ गते दिउँसो स्वदेश फर्किने कार्यतालिका रहेको छ ।

Back to top button