संवैधानिक परिषदको बैठक यसकारण भयो निष्कर्षविहिन

काठमाडौं । प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले संसदीय सुनुवाइ विशेष समिति गठन नभएसम्म प्रधानन्यायाधीश नियुक्ति नहुने भएकाले पहिले संसदीय समिति टुंगो लगाउनुपर्ने अडान लिनुभएको छ ।

ओलीले संसदीय सुनुवाइसहित अन्य विषयगत समितिको नेतृत्व टुंगो लगाउनुपर्ने प्रस्ताव राखेपछि आजको संवैधानिक परिषद बैठक निष्कर्षविहीन भएको हो ।

थप छलफलपछि प्रधानन्यायाधीश सिफारिस गर्ने सहमति भएको राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले बताउनुभयो । बैठकमा विपक्षी दलका नेता ओलीले संवैधानिक परिषद बैठकमा बाहेक सत्तापक्षलाई विपक्षी दलको नेताको आवश्यकता नदेखिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न गर्नुभएको थियो ।

बैठकका एक सहभागीले भन्नुभयो, प्रधानमन्त्रीले अरु एजेण्डा छैनन्, प्रधानन्यायाधीशको नाम सिफारिस गरौं भन्नुभयो । विपक्षी दलको नेताले अहिले संवैधानिक परिषदबाट सिफारिस भए पनि संसदीय सुनुवाइ समिति नबनेसम्म नियुक्ति प्रक्रिया अघि नबढ्ने भएकाले पहिले समिति गठनको विषय टुंग्याउनुपर्छ भन्नुभयो ।’

यो विषयमा दुईपटकसम्म बालुवाटार र बालकोटमा शीर्ष तहमा छलफल भएको स्मरण गराउँदै ओलीले प्रधानमन्त्रीको भूमिकाप्रति आपत्ति जनाउनुभएको थियो ।

एमालेले संसदीय समितिहरूको सभापतिसमेत दलीय आकार बमोजिम टुंगो लगाउनुपर्ने अडान लिएको छ । विपक्षीले पाउने लेखा समितिसहित ४ समिति सभापति र दुई विशेष समितिमध्ये एकको नेतृत्व दाबी गरेको छ । त्यसपछि संवैधानिक परिषद बैठक बस्नु उपयुक्त हुने एमालेको अडान छ ।

Back to top button