एकै परिवारका तीन जनालाई स्वर्ण

काठमाडौं । १८औं राष्ट्रिय जुडो प्रतियोगितामा एकै परिवारका तीन खेलाडीले स्वर्ण पदक जितेका छन् । दाजु इन्द्रबहादुर श्रेष्ठसँगै बहिनी निशा र देवकीले स्वर्ण जित्नुभएको हो ।

नेपाल जुडो संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ६६ केजीमुनि नेपाल पुलिस क्लबका इन्द्रले लुम्बिनी प्रदेशका मनिष आलेलाई पराजित गर्दै स्वर्ण जित्नुभएको हो ।

फाइनल जित्न इन्द्रलाई १६ सेकेन्डको समय मात्रै लागेको थियो । चार मिनेटको खेलमा इन्द्रले इप्पोनका आधारमा मनिषलाई १६ सेकेन्डमै हराउनुभएको थियो । नेपाल आर्मीका किरण भट्टराई र बागमती प्रदेशका प्रवीण पाण्डे तेस्रो हुनुभयो ।

महिला ४८ केजीमुनिको फाइनलमा बागमतीकी निशाले एपीएफकी रत्ना तामाङलाई पराजित गर्नुभयो। लुम्बिनीकी प्रतीक्षा केसी तथा कर्णाली प्रदेशकी सकुन सुनुवार तेस्रो हुनुभयो ।

५२ केजीमुनिको स्वर्ण भिडन्तमा बागमतीकी देवकीले आर्मीकी रोशना दंगाललाई पाखा लगाउनुभयो । कर्णालीकी अनिता बुढा र पुलिसकी प्रतिभा पुलामी मगर तेस्रो स्थानमा रहनुभयो । इन्द्र, निशा र देवकी बन्दी सहायता नियोग (पाम)का उत्पादन हो ।

महिला ५७ केजीमुनि आर्मीकी सिमाकुमारी चिडीले एपीएफकी सुनिता थिङलाई पन्छ्याउदै स्वर्ण चुम्नुभयो । बागमतीकी अन्जु पाण्डे र कर्णालीकी पेमा याङ्गी शेर्पाले कांस्य हात पार्नुभयो । ६३ केजीमुनि पुलिसकी दिलकुमारी छन्त्यालले बाजी मार्नुभयो । दिलकुमारीले फाइनलमा आर्मीकी लीला अधिकारीको चुनौती पन्छाउनुभयो । कर्णालीकी बन्दना कुलुङ र लुम्बिनीकी निर्मल कुँवर तेस्रो हुनुभयो ।

पुरुष ६० केजीमुनि कर्णालीका प्रवीणकुमार दियालीले शीर्ष स्थान कब्जा गर्नुभयो । उहाँले फाइनलमा लुम्बिनीका विकास विकलाई पाखा लगाउनुभयो । लुम्बिनीकै काशिराम महत तथा आर्मीका दीपक रास्कोटीले तेस्रो स्थानमा चित्त बुझाउनुभयो । ७३ केजीमुनि एपीएफका प्रमोद मण्डलले फाइनलमा बागमतीका सुनिल नगरकोटीलाई हराउनुभयो । लुम्बिनीका आयुश साहवत तथा बागमतीका राजु शर्मा भदाइ तेस्रो हुनुभयो।

यस्तै, प्रतियोगिताबाट चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुदका लागि प्रारम्भिक खेलाडी छनोट गरिने जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक तौलसमूहबाट चार खेलाडी प्रारम्भिक चरणमा छनोट हुनेछन् । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीका ६४ पुरुष र ५२ महिला गरी १ सय १६ खेलाडी सहभागी छन् ।

Back to top button