आज मातातीर्थ औंसी, मातातीर्थमा मेला, चन्द्रागिरिमा सार्वजनिक विदा

काठमाडौं । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आज मातातीर्थ औंसी मनाइँदैछ । प्रत्येक वर्षको वैशाख कृष्ण औंसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्वलाईं आमाको मुख हेर्ने दिन वा आमा खुवाउने औंसी पनि भनिन्छ ।

पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रका जानकार डा. बासुदेवकृष्ण शास्त्रीका अनुसार यस दिन बिहान सबेरै स्नान गरी आमालाई उपहार प्रदान गर्ने, विभिन्न मिष्ठान्न खुवाइ आमाको मुख हेर्ने र आशिर्वाद लिने प्रचलन रहीआएको छ । आमा नभएकाहरुले भने श्राद्ध गर्दै आमाको सम्झना गर्ने गर्छन् ।

यसैबीच दिवंगत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न वैशाख कृष्ण औंसीका दिन काठमाडौंको मातातीर्थमा मेला लाग्ने गर्दछ । काठमाडौँको चन्द्रागिरि नगरपालिकाले मातातीर्थ मेलाको अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

मेलामा सहभागी भई त्यहाँस्थित कुण्डमा दर्शन गरेमा आमा दिवंगत हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने जनविश्वास रही आएको छ ।

आमा नहुने नरनारी मातातीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव) को पूजा गर्छन् । आमा नभएकाहरुले सके प्रत्येक वर्ष, नसके एक पटक मातातीर्थ औंसीमा श्राद्ध गर्नुपर्ने मान्यतासमेत छ ।

मातातीर्थमा मूर्तिकार रामकृष्ण भण्डारीले बनाएको सबैकी आमाको प्रतीक ‘साझा आमा’को मूर्ति स्थापना गरिएको छ । सो मूर्तिले मातातीर्थको आकर्षण झन् बढाएको छ ।

आजकै दिन भक्तपुरका नेवार समुदायले भक्तपुरको हनुमानघाटमा गई आमाको सम्झनामा श्राद्ध गरी तर्पण दिने प्रचलन छ ।

घरबाट टाढा रहेकाहरु आमाको मुख हेर्नका लागि घर पुग्ने तथा घर जान नपाएकाहरुले टेलिफोन गरेरै भए पनि आमालाई सम्झने गर्दछन् । हिजोआज सामाजिक सन्जालमा आमाको तस्वीर राखेर सम्मान भाव प्रकट गर्ने चलन बढेको छ ।

Back to top button