धरानका मेयर हर्क साम्पाङद्वारा वडा अध्यक्षहरुको राजीनामा माग

विराटनगर ।  धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङ र वडाध्यक्षहरूको विवाद चर्किँदै गएको छ ।

विवाद बढ्दै गएपछि मेयर साम्पाङले वडा अध्यक्षहरुको राजीनामा माग गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत साम्पाङले आफूले भनेको नमान्ने भए राजीनामा दिएर बाटो खुला गरिदिन भन्नुभएको हो ।

वडा अध्यक्षहरु बैठकमा नआउँदा धरानको विकास रोकिएको उहाँको आरोप छ । उहाँले बैठकमा नआउने वडा अध्यक्षहरुको राजीनामा माग गर्नुभएको छ । उहाँले लेख्नुभएको छ,‘धराने जनता हो‘ तपाइँहरुको बिकास रोकिने भयो । अब बैठकमा नआउने वडाध्यक्षहरु सबैलाई राजिनामा दिन लगाउनु ।’

वडा अध्यक्षको राजीनामा माग्दै उहाँले उपनिर्वाचन गरेर रिक्त वडा अध्यक्षहरुको पद पूर्ति गर्ने बताउनुभयो । उहाँले लेख्नुभएको छ,‘म प्रकृया मिलाउन सघाउँछु । अनि उपनिर्वाचन गरेर रिक्त वडाध्यक्षहरुको पद पूर्ति गराएर धरानलाई अघि बढाउनु पर्छ ।’

साम्पाङका स्वकीय सचिवको निर्देशनात्मक पत्राचारको विषयलाई लिएर वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरू असन्तुष्ट बनेका छन् । मेयर साम्पाङ निरंकुस बनेको र विधि प्रक्रिया मिचेर जथाभावी गर्न थालेपछि सबै वडाअध्यक्ष र कार्यपालिका सदस्यहरू बैठकमा सहभागी नभएको बताइएको छ ।

कार्यपालिकाका अधिकांश सदस्य र वडा अध्यक्षहरु उपस्थित नभएपछि गत मंगलबार बोलाइएको बैठक बस्न सकेको थिएन ।

गत मंगलवारको बैठकमा मेयर राई, उपमेयर बेघा, १४ नम्बर वडाका अध्यक्ष कृष्ण भट्टराई र प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईको मात्र उपस्थित थियो। धरानमा ३१ जनाको कार्यपालिका छ ।

Back to top button