कर्णाली सरकारले पायो पूर्णता, कांग्रेसका ३ मन्त्रीले लिए शपथ

वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारले आज पूर्णता पाएको छ। प्रदेश सरकारमा नवनियुक्त नेपाली कांग्रेसका ३ मन्त्रीले शपथ लिएपछि प्रदेश सरकारले पूर्णता पाएको हो।

मन्त्रीहरू वेदराज सिंह, खड्गबहादुर पोखरेल र कृष्णकुमार बिसीलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ गराउनुभयो।

नवनियुक्त मन्त्रीमध्ये सिंहलाई आर्थिक मामिला तथा योजना, पोखरेललाई सामाजिक विकास मन्त्रालय र बिसीलाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यसअघि भौतिक पूर्वाधार राज्यमन्त्री रहनुभएकी उर्मिला विश्वकर्माले पनि ऊर्जामन्त्रीका रूपमा आज शपथ लिनुभएको छ । कर्णाली प्रदेशमा मन्त्रालयको संख्या पनि ८ नै बनाइएको छ।

गत मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयलाई टुक्रयाएर ऊर्जा छुट्टै बनाएको थियो।

यसअघि एमाले–माओवादीको गठबन्धनमा ऊर्जालाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा गाभिएको थियो।

Back to top button