उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा

काठमाडौं । निर्वाचन आयोगले यही वैशाख १० गते आइतबार हुन लागेको ३ क्षेत्रको उपनिर्वाचनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ।

प्रतिनिधिसभा सदस्यका लागि बारा निर्वाचन क्षेत्र नं २, तनहुँ निर्वाचन क्षेत्र नं १ र चितवन निर्वाचन क्षेत्र नं २ मा हुन लागेको निर्वाचनका लागि तयारी पूरा भएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो।

निर्वाचनका लागि सम्पूर्ण सामग्री मतदान स्थलमा पुगिसकेको उहाँले बताउनुभयो। यस्तै सहायक प्रवक्ता अर्यालले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि आज रातिदेखि मौन अवधि सुरु हुने जानकारी दिनुभयो।

उक्त अवधिमा निर्वाचन प्रचार–प्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचार–प्रसार गर्न नपाइने उहाँको भनाइ छ।

प्रवक्ता अर्यालले आचारसंहितालाई कार्यान्वयन गराउन जिल्लास्तरीय अनुगमन संयन्त्रका साथै स्थानीय प्रशासन सक्रिय रहेको जिकिर गर्नुभयो।

Back to top button