हिमालयन शेर्पालाई १–०ले हराउँदै थ्रिस्टार विजयी

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आज भएको खेलमा थ्रीस्टारले हिमालयन शेर्पा क्लबलाई १–० ले पराजित गरेको छ । एन्फा कम्प्लेक्समा भएको खेलमा आत्मघाती गोल मद्दतमा थ्रीस्टारले ३ अंक जोडेको हो ।

हिमालयन शेर्पाका कप्तान विश्वास श्रेष्टले पेनाल्टी चुकाउँदा अंक खोस्ने अवसर गुमाउन पुग्यो । खेलको १३औं मिनेटमा हिमालयन शेर्पाका सन्जित राईले गरेको आत्मघाती गोलले गर्दा थ्रीस्टारले अग्रता लिएको थियो ।

थ्रीस्टारका लाकेन लिम्बुको प्रहार सन्जितको खुट्टामा लागेर गोल भएको थियो । दोस्रो हाफमा हिमालयनले बराबरी गर्ने अवसर गुमायो । ४८औं मिनेटमा प्राप्त पेनाल्टीमा हिमालयन विश्वासको प्रहार पोष्ट माथिबाट बाहिरिन पुग्यो ।

जितपछि थ्रीस्टार १० खेलबाट १८ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । आजै सातदोबाटो युथ क्लबले चर्च ब्वाइज युनाइटेडसँग खेल्दैछन । उक्त खेल जितेमा सातदोबाटो पुनः दोस्रो स्थानमा फर्कनेछ । हिमालयन शेर्पा क्लब १० खेलबाट ९ अंकसहित १३औं स्थानमै छ ।

Back to top button