देश संकटपूर्ण अवस्थामा छ : प्रकाण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले देशको अस्तित्व संकटमा पर्न लागेको बताउनुभएको छ ।

आज नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता विश्वकर्माले देश असाध्यै संकटपूर्ण अवस्थामा रहेको बताउनुभयो। उहाँले देशको अहिलेको जस्तो संकट विगतमा कहिल्यै नभएको बताउनुभयो।

उहाँले एमसिसी प्रोजेक्ट देशको विरुद्धमा केन्द्रित रहेको र भारतीयहरुले सीमाना मिचिरहेको भन्दै देशको स्वाधिनतामाथि नै प्रश्न उठेको बताउनुभयो। उहाँले विश्वका शक्ति राष्ट्रहरुको संघर्ष दुश्मनीपूर्ण अवस्थामा पुगेको उल्लेख गर्नुभयो।

प्रवक्ता विश्वकर्माले अमेरिका र चीनबीचको अन्तरविरोधलाई नेपालले ठिक ढंगले विश्लेषण गर्न नसके नेपाल युक्रेनको अवस्थामा पुग्ने बताउनुभयो।

उहाँले भन्नुभयो,‘देश असाध्यै संकटपूर्ण घडीमा छ। यतिधेरै संकट देशको जीवनमा कहिल्यै पनि आएको थिएन। पञ्चायती व्यवस्थामा पनि यत्ति संकट आएको थिएन। त्यसका आफ्नै प्रकृतिका संकट थिए। ०४६ देखि ०६३ सम्म आउँदा पनि यति संकट आएको थिएन।

यद्यपि, संसदीय प्रतिक्रियावादी व्यवस्था थियो त्यो। एमसिसी जस्ता डरलाग्दा अमेरिकी प्रोजेक्ट पनि हाम्राविरुद्ध केन्द्रित छन्। अमेरिका र चीन बीचको अन्तविरोध जुन ठाउँमा जान खोजेको छ, नेपालका शासक वर्गहरुले ठिक ढंगले त्यसको विश्लेषण गर्न सकेनन् भने र ठिक ढंगले डिल गर्न सकेनन् भने नेपाल अर्को युक्रेन हुँदैन भन्न सकिने स्थिति छैन।’

प्रवक्ता विश्वकर्माले अहिलेको राजनीतिमा विचार, नीति, सिद्धान्त र नैतिकताको कुनै प्रश्न नरहेको बताउनुभयो। राजनीति केवल सत्ता र कुर्सीको निम्ति गरिने षड्यन्त्रमूलक खेलको रुपमा स्थापित हुन पुगेको उहाँले बताउनुभयो।

उहाँले सत्ता र कुर्सीको स्वार्थको निम्ति विदेशी शक्तिहरुसँग सौदाबाजी भइरहेको आरोप लगाउनुभयो।

आज पत्रकार सम्मेलनमा बोल्दै उहाँले नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा वैशाख ९ गते आफ्नो पार्टीले काठमाडौंको खुलामञ्चमा कार्यक्रम गर्ने बताउनुभयो।

कार्यक्रममा देशका कम्युनिष्ट तथा वामपन्थी १० वटा राजनीतिक पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्ने उहाँले जानकारी दिनुभयो। करिब १५ हजार मानिसहरुको सहभागिता हुने सो कार्यक्रममा शीर्ष पार्टीका नेताहरुलाई समेत निमन्त्रण गरिएको उहाँले बताउनुभयो।

Back to top button