उपेन्द्र यादवलाई मत माग्दै प्रधानमन्त्री प्रचण्डको आश्वासनः निजगढ विमानस्थल चाँडै शिलन्यास हुन्छ

बारा । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको छिट्टै शिलान्यास गरिने बताउनुभएको छ ।

बाराको गढीमाईमा सत्ता गठबन्धन दलद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले विमानस्थलको कामले अब छिट्टै गति लिने आश्वासन दिनुभएको हो ।

उहाँले भन्नुभयो,‘म तपाईंहरूसामु प्रतिबद्धता व्यक्त गर्छु, निजगढ विमानस्थलको गृहकार्यसम्बन्धी काम सकेर छिट्टै यसको शिलन्यास गरिनेछ।’

उहाँले गढीमाईलाई अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र बनाउन पहल गर्ने र त्यसकालागि गढीमाई विकास समिति बनाएर यसको संरक्षण र प्रवर्द्धन गर्ने सरकारको योजना रहेको बताउनुभयो ।

विद्युतीय सिँचाइ प्रणालीमार्फत् सिँचाइको व्यवस्था गर्ने र उपेन्द्र यादवको नेतृत्वमा यस क्षेत्रको विकासका लागि सरकारले विशेष ध्यान दिने प्रधानमन्त्रीको भनाइ छ।

यसपटक गाँठो पार्ने होइन, गाँठो फुकाउने राष्ट्रपति पाएका छौं, प्रधानमन्त्रीले भन्नुभयो, ‘नागरिकता समस्या मधेसको मात्र समस्या होइन, देशको समस्या हो । यो समस्यालाई दीर्घकालीनरूपमा समाधान गरिनेछ।’

प्रधानमन्त्रीले यसअघि अर्थतन्त्र संकटमा भए पनि अहिले अर्थतन्त्रमा सुधार देखिएको बताउनुभयो । प्रधानमन्त्री दाहालले उपेन्द्र यादव देशको नेता भएको भन्दै संसदका लागि आवश्यक रहेको बताउनुभयो ।

‘उपेन्द्र यादवले जित्नु भनेको मधेसले जित्नु हो। मधेसले मात्रै नभएर देशले जित्नु हो। संघीय लोकतान्त्रिक गणतन्त्रले जित्नु हो। समग्र परिवर्तनका मुद्दाले जित्नु हो’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।

Back to top button