घाँस काट्न गएका बृद्ध मकैबारीमा मृत फेला

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–६ का एक जना वृद्ध आज दिउँसो मृत भेटिनुभएको छ । घाँस काट्न भनेर घरबाट हिँड्नुभएका ७७ वर्षीय पदमबहादुर खड्का मकैबारीभित्र मृत फेला पर्नुभएको हो ।

घाँस काट्नलाई बिहान ८ बजेतिर डोको बोकेर घरबाट निस्किनुभएका खड्काको शव घरनजिकको मकैबारीमा अपरान्ह ३ बजेतिर भेटिएको प्रहरीले जनाएको छ।

घाँस लिएर घर नफर्किएका वृद्धलाई खोजी गर्ने क्रममा मकैबारीमै ढलिरहेको अवस्थामा मृत फेला पारेपछि स्थानीय र परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए ।

लगत्तै घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक उदय शम्शेर राणा नेतृत्वको टोलीले शवलाई पोस्मार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेर घटनाको अनुसन्धान सुरु गरेको छ।

वृद्धको शवनजिक डोको, नाम्लो, हँसिया र उहाँले काटेको घाँस पनि भेटिएको थियो । उहाँको मृत्युको कारण खुल्न बाँकी छ। यद्यपि, उच्च रक्तचापका कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । प्रहरीले पोस्टमार्टम रिपोर्ट प्राप्त भएर घटनाको थप अनुसन्धान गरेपछि मृत्युका बारेमा यकिन हुने जानकारी दिएको छ।

Back to top button