स्मार्ट सिटीको कित्ताकाटमा भ्रष्टाचारः प्रमुख नापी अधिकृतसहित मालपोतका ८ जनाविरुद्ध मुद्दा

काठमाडौ । अख्तियार अनुसन्धान दुरुपयोग आयोगले नापी कार्यालय चाबहिलका तत्कालीन प्रमुख नापी अधिकृतसहित ८ जनाविरुद्ध विशेष अदातलमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

जग्गाको नक्सा आफूखुशी जोडेको र नक्सामा नभएको क्षेत्रफललाई कानुनविपरीत कित्ताकाट गरेको भन्‍दै नापी कार्यालय चाबहिलका तत्कालीन प्रमुख नापी अधिकृत दुर्गादास महर्जनसहित ८ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।

अख्तियारले नापी कार्यालय चावहिलका तत्कालीन प्रमुख नापी अधिकृत दुर्गा दाश महर्जन, नापी अधिकृत रवि शंकर पाण्डेय र सर्भेक्षक रामनारायण यादवले मूलपानी १ख कि.नं. ७०८, ७०९, ६६६ र ८१३ को कित्ताकाट गर्ने क्रममा सरकारी कागजातको रुपमा चिनिने नक्सामा अनाधिकृतरुपमा कित्ताहरुको आकारप्रकार परिवर्तन गरी नक्सा सच्याएको आरोप लगाएको छ ।

यो कार्यमा मालपोत चाबहिलका तत्कालीन मालपोत अधिकृत विष्णु प्रसाद काफ्ले र नायव सुब्बा उत्‍तम कुँवर तथा झापाको कमल गाउँपालिका–२का योगेन्द्र आचार्य , काठमाडौं कागेश्वरी मनोहरा–९ का सिताराम अधिकारी र काठमाडौं महानगरपालिका–९ का नविन दाहालको पनि संलग्नता रहेको अख्तियारको दाबी छ ।

यस्तै, आचार्य, अधिकारी र दाहालले टायल चेकबाट क्षेत्रफल बढ कायम गरी नक्सा तयार गर्ने कार्यमा नापी कार्यालय, चावहिलका कर्मचारीहरुलाई परिवर्तित नक्साबमोजिमको क्षेत्रफल कायम गरी गलत लिखत पारित गर्न मतियारको रुपमा सहयोग पुर्‍याएको अख्तियारको आरोप छ ।

उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिवन्धात्मक वाक्यांशमा उल्लेख भएबमोजिम मूख्य कसुरदारलाई हुने सजायसरह सजाय हुन मागदावी लिइएको अख्तियारका प्रवक्ता भोला दाहालले बताउनुभयो ।

Back to top button