मुस्ताङमा लेकका कारण २ जनाको मृत्यु

जोमसोम । मुस्ताङमा बस चालक र अर्का एक भारतीय पर्यटकको मृत्यु भएको छ। उनीहरूको मुस्ताङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

भारतीय पर्यटक लिएर मुक्तिनाथ दर्शनका लागि आएको ग १ ख ८८५७ नम्बरको बसका चालक धादिङको नीलकण्ठ नगरपालिकाका ४२ वर्षीय कपिन खाँड ठकुरीको ह्रदयघातका कारण मृत्यु भएको हो।

उहाँले भारतीय पर्यटक लिएर जोमसोम आउनुभएको र पर्यटकलाई होटलमा छाडेपछि छाति दुःखेको बताउनुभएको थियो। त्यसपछि उहाँलाई हिजो साँझ मुस्ताङ अस्पतालमा भर्ना गरिएकोमा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी गोपीकृष्ण सुवेदीले जानकारी दिनुभयो।

बसका चालक ठकुरीलाई ब्लड प्रेसरको समस्या रहेको सुवेदीले बताउनुभयो। उहाँ भारतीय पर्यटक लिएर पहिलो पटक मुस्ताङ आउनुभएको बताइएको छ। उच्च उचाइको क्षेत्रमा आउँदा प्रेसरको थप समस्या देखिएको थियो।

आज पनि एक भारतीय पर्यटकको लेंक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। भारतको आन्ध्र प्रदेश गान्धि नगर बिजय बस्ने ६६ वर्षीय मझौला लक्ष्मी नसिंह रावको मुस्ताङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिनुभयो।

भारतबाट सामूहिक रुपमा मुस्ताङ आएको भारतीय पर्यटकको टोली हिजो मुक्तिनाथ दर्शन गर्न पुगेको थियो। राव मुक्तिनाथ दर्शन गर्ने क्रममा लेंक लागेर बिरामी हुनुभएको थियो। त्यसपछि अस्पतालमा उपचारका क्रममा उहाँको आज मृत्यु भएको हो।

Back to top button