एसीसी मेन्स प्रिमियर कपः नेपालसँग ओमान ८४ रनले पराजित

काठमाडौं । नेपालले एसीसी मेन्स प्रिमियर कपको समूह ‘ए’अन्तर्गत ओमानलाई ८४ रनले पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले ८ विकेट गुमाएर ३ सय १० रनको योगफल तयार गरेको थियो । खराब सुरुआत गरेको नेपालले उत्कृष्ट पुनरागमन गर्दै ५० औं एकदिवसीयमा पहिलो पटक ३ सयभन्दा ठूलो योगफल तयार पारेको हो ।

यसअघि नेपालले मार्च ९ मा पपुवा न्युगिनीविरुद्ध दुई सय ९७ रनको कीर्तिमानी योगफल बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको ओमान ४६ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर दुई सय २६ रनमा सिमित भयो ।

ओमानका लागि मोहम्मद नदिमले ८४ बलमा सात चौका र एक छक्कासहित ६५ रनको अर्धशतकीय इनिङ खेल्नुभयो । यस्तै, सन्दीप गौडले ४६, आयान खानले २९ तथा कस्यप प्रजापतिले २५ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। नेपालका लागि करण केसी र सन्दीप लामिछानेले तीन–तीन विकेट लिनुभयो ।

यस्तै, ललित राजवंशीले एक विकेट लिँदा अन्य बलर विकेटविहीन रहनुभयो । दुवै ओपनरलाई शुन्यमा गुमाएर खराब सुरुआत गरेको नेपालका लागि कुशलले ५९ बलमा ९ चौका र ९ चौकासहित शानदार शतक बनाउनुभयो ।

नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा कुशलले बनाएको यो सबैभन्दा छिटो शतक हो। नेपालका लागि कुल ६४ बलको सामना गरेका कुशलले ९ चौका र १० छक्कासहित १ सय ८ रनको इनिङ खेलेर आउट हुनुभयो । यस्तै, सोमपाल कामी ४८ बलमा ९ चौकासहित ६३ रनको अर्धशतकीय इनिङ खेलेर अविजित रहनुभयो ।

त्यसअघि आरिफ शेख ४३ बलमा २९ रन बनाएर आउट हुनुभयो । यसअघि कप्तान रोहित पौडेल २४ तथा भीम सार्की ३३ रन बनाएर आउट हुनुभएको थियो । करण केसीले १५ बलमा दुई चौका र एक छक्कासहित अविजित २९ रन जोड्दा अन्य ब्याटरको प्रदर्शन उल्लेख्य रहेन ।

ओमानका लागि आयान खानले २ तथा बिलाल खान, कलिमुल्लाह, जिशन मक्सुद, फयाज बट, अकिव इलियास र जतिन्दर सिंहले १–१ विकेट लिनुभयो । पहिलो खेलमा नेपालले मंगलबार मलेसियालाई ६ विकेटले पराजित गरेको थियो। नेपालले तेस्रो खेल साउदी अरबविरुद्ध आगामी सोमबार मुलपानी क्रिकेट मैदानमा खेल्ने छ।

Back to top button