चितवनमा गाडीको ठक्करबाट स्कुटरमा सवार शिक्षकको मृत्यु

भरतपुर । चितवनमा मिक्सरले स्कुटरलाई ठक्कर दिँदा एक शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–९ का ६८ वर्षीय महेन्द्रप्रसाद पौडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार हाकिमचोकबाट चौबिसकोठीतर्फ आउँदै गरेको बा२ क ८३४९ नम्बरको मिक्सरले बाटो काट्ने क्रममा रहेको प्रदेश ३–०३–००२ प ३७७० नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक पौडेलको मृत्यु भएको हो ।

ठक्करबाट घाइते पौडेलको उपचारका क्रममा चितवन मेडिकल कलेजमा आज बिहान ९ः३५ बजे मृत्यु भएको पण्डितले जानकारी दिनुभयो।

ठक्कर दिने मिक्सर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक पौडेल नेपाल शिक्षक सङ्घ चितवनका पूर्वअध्यक्ष हुनुहुन्थ्यो। सरदपुर माध्यमिक विद्यालयको पूर्वप्राध्यानाध्यापक एवं हाल सोही विद्यालयको व्यवस्थापन समितिको अध्यक्षको रुपमा काम गर्दै आउनुभएको थियो ।

Back to top button