निजी क्षेत्रलाई नियन्त्रण गर्ने वा नकारात्मक प्रभाव पार्नेगरी गरी कुनै कानुन बनाउँदैनौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई नियन्त्रण गर्ने वा नकारात्मक प्रभाव पार्नेगरी कुनै कानुन नबनाउने बताउनुभएको छ । आज दिउँसो नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूसँग बालुवाटारमा भेट्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।

भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाइसमेत दिनुभयो।

उहाँले नेपालको संविधानले राज्यको तर्फबाट निजी क्षेत्र र व्यवसायलाई प्रवर्द्धन गर्ने व्यवस्था गरेको भन्दै अर्थतन्त्रमा संकट आएको बेला निजी क्षेत्र संकुचित हुने वा नकारात्मक प्रभाव पर्ने गरी कुनै पनि कानुन नबनाउने बताउनुभयो।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो,‘हाम्रो संविधानले निजी क्षेत्रलाई प्रवर्द्धन गर्ने व्यवस्था गरेको छ। अर्थतन्त्र संकटमुक्त भइसकेको छैन। यस्तो परिस्थिति सरकार र निजी क्षेत्रबीच बलियो सहकार्य र एक–अर्काको हितलाई सम्बोधन गरेर मात्र अर्थतन्त्रका चुनौती छिचोल्न सकिन्छ।

निजी क्षेत्रलाई बेवास्ता गरेर वा नियन्त्रण गरेर राष्ट्रिय चुनौती सम्बोधन गर्न सकिँदैन भन्नेमा म एकदमै स्पष्ट छु। निजी क्षेत्रलाई बन्देज लगाउने वा नकारात्मक प्रभाव पार्नेगरि कुनै पनि कानुन बनाउँदैनौं।’

निजी क्षेत्रलाई समेत राज्यको मर्यादाक्रममा समावेश गर्ने गरी सरकारले छलफल अगाडि बढाएको प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो।

यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रलाई समेत अख्तियार दुरूपयोग अनुसन्धान आयोगको दायराभित्र राख्ने गरी विधेयकको प्रक्रिया अगाडि बढेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो।

Back to top button