कोदो खाएकै बलले अहिलेसम्म स्वस्थ छु : नेता खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले कोदो र कोदोजन्य खाना स्वास्थ्यको लागि फाइदाजनक भएको बताउनुभएको छ । कोदोले सुगर र प्रेसर पनि कम गर्ने उहाँको भनाइ छ।

आज काठमाडौंमा आयोजित नेशनल नर्सिङ कन्फ्रेन्सलाई सम्बोधन गर्दै उहाँले कोदो बहुगुणी भएकाले कोदो खान र उत्पदान गर्न सुझाव दिनुभयो। उहाँले आफूले पनि पछिल्लो समय कोदोको सेवन धेरै गरेको भन्दै अहिले सुगर र प्रेसर हराएको बताउनुभयो।

नेता खनालले कोदोको सेवनले गर्दा आफू अहिले म्याराथनमा दौडिन पनि सक्षम र बलवान भएको बताउनुभयो। उहाँले हरेक कुरालाई पराजय गर्नको लागि आत्मविश्वासको आवश्यक्ता रहेको बताउनुभयो।

उहाँले भन्नुभयो,‘मैले आफैँले भोगेको कुरा भन्ने हो भने प्रेसर र सुगर भएका रोगीहरुले कोदो खायो भने कम हुन्छ। मेरो पनि अलि–अलि प्रेसर थियो, अहिले केही पनि छैन। मेरो स्वास्थ्य पहिलाभन्दा धेरै राम्रो छ।’

नेता खनालले नैतिकवान राजनीतिज्ञ मात्रै सधैँभर आफ्नो उचाइमा बसिरहन सक्षम हुने बताउनुभयो।

Back to top button