गुल्मिमा डेढेलो निभाउने क्रममा जलेका थप एकको मृत्यु

गुल्मी । गुल्मीको वनमा लागेको डढेलो निभाउने क्रममा जलेर घाइते भएका अर्का एक जनाको पनि मृत्यु भएको छ ।

डढेलो निभाउने क्रममा घाइते हुनुभएका धुर्कोट गाउँपालिका वडानम्बर–३, गुल्मीका ५५ वर्षीय धनबहादुर जोगी कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेले जानकारी दिनुभएको छ ।

गत बिहीबार धुर्कोट गाउँपालिका वडानम्बर–३ हाडहाडे बर्दवास जंगलमा लागेको आगो निभाउन गएका बेला कुँवर जलेर गम्भीर घाइते हुनुभएको थियो ।

उहाँको गुल्मी, पाल्पा र बुटवलमा उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

सोही डढेलो निभाउने क्रममा घाइते हुनुभएका धुर्कोट गाउँपालिका वडानम्बर–३ कै १३ वर्षीय दीपक मुखियाको पनि उपचारको क्रममा शुक्रबार मृत्यु भएको थियो ।

Back to top button